म्याग्दी, ६ जेठ– अन्नपूर्ण प्रथम हिमालको पहिलो आरोही मौरिस हर्गोजको नाममा पहिचान गरिएको पदमार्ग प्रवर्द्धन थालिएको छ ।
अन्नपूर्ण गाउँपालिका–४ स्थित अन्नपूर्ण प्रथम हिमाल ८ हजार ९१ मिटर अग्लो छ । नारच्याङदेखि अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने पदमार्गको प्रवर्द्धनका लागि जनप्रतिनिधि, कर्मचारी, पर्यटनकर्मी लगायतको टोलीले पैदलयात्रा थालेका हुन् ।
सन् १९५० जुन ३ तारिखमा फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण प्रथम हिमालको आरोहण गरेका थिए । हर्गोजले आरोहणका लागि आधार शिविर जान प्रयोग गरेको पदमार्गलाई उहाँकै नाममा नामकरण गरिएको छ । ८ हजार मिटरभन्दा अग्ला हिमालमध्ये पहिलो मानव पाइला परेको अन्नपूर्ण जेठो हिमाल हो ।
आधार शिविर पदयात्रामा जान लागेको टोलीलाई बिहीबार पोखरेबगरमा गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन र उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले बिदाइ गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी नेतृत्वमा कार्यपालिकाका सदस्य, पर्यटन व्यवसायी सहितको टोली नारच्याङ–छोटेपा–हुमखोलाहुँदै आधार शिविर प्रस्थान गरेको छ ।
पोखरेबगरदेखि हुमखोलासम्म गाडीमार्फत गएको टोलीले त्यहाँदेखि चार हजार एक सय मिटर उचाइमा रहेको आधार शिविरसम्म पैदलयात्रा गर्ने कार्यक्रम छ । आधार शिविरमा दौड प्रतियोगिता र पर्यटन प्रवद्र्धनका कार्यक्रम गरिने सुवेदीले बताए ।
नारच्याङका तेज गुरुङको अगुवाइमा २०६८ मा पहिचान भएको मौरिज हर्गोज पदमार्गको प्रचारप्रसारका लागि यसअघि प्रथम अन्नपूर्ण महोत्सवको आयोजना गरिएको थियो ।