म्याग्दी, १८ जेठ– अन्नपूर्ण गाउँपालिका वडा नं. ८ मा रहेका दुई पर्यटकीयस्थल करवाकेली र मोहरेडाँडा जोड्ने पदमार्ग निर्माण सुरु भएको छ ।
वडाध्यक्ष खमबहादुर गर्बुजाले गण्डकी प्रदेश सरकारको सशर्त अनुदानमा उपभोक्ता समितिमार्फत पदमार्ग निर्माण गर्न लागिएको जानकारी दिए । प्रदेश सरकारबाट प्राप्त ३० लाख बजेटबाट पदमार्ग बनाउन लागिएको हो ।
गर्बुजाका अनुसार, ढुंगाको सिँढी चिनेर पैदलमार्गका साथै दुई विश्रामस्थल बनाउने योजना छ । करवाकेलीबाट आलडाँडासम्म र आलडाँडाबाट मोहरेडाँडासम्म दुईवटा खण्ड बनाएर पदमार्ग निर्माणमा स्थानीय मजदुर परिचालन गरिएको छ ।
पर्यटकलाई आश्रयका लागि सम्धीखर्क र आलडाँडामा दुई प्रतिक्षालय भवन निर्माण गरिने करवाकेली–मोहरेडाँडा पर्यटन पदमार्ग उपभोक्ता समितिका अध्यक्ष गमबहादुर पुर्जाले बताए । करवाकेली–आलडाँडा खण्डको पदमार्ग बनाउने जिम्मा भने काफलडाँडा टोलका उपभोक्ताले लिएका छन् ।
राम्चेका उपभोक्ताले आलडाँडाबाट मोहरेडाँडा खण्डको जिम्मा लिएका छन् । आगामी जेठ मसान्तसम्म पदमार्ग निर्माण गरिसक्ने लक्ष्य छ । ढुंगा चिन्नुका साथै पुरानो बाटोको झाडी सफाइ र माटो काटेर व्यवस्थित पदमार्ग बनाइने अन्नपूर्ण गाउँपालिकाका इञ्जीनियर ईश्वर भण्डारीले बताए ।
बस्तीबाट टाढा र भुइँमा बिछ्याउने ढुंगा नपाउँदा पदमार्ग निर्माणमा चुनौती बनेको छ । पदमार्ग निर्माण भएपछि पर्यटक र स्थानीयलाई आवतजावतमा सहज हुनुका साथै बाटो बिराउने समस्या हट्ने अपेक्षा गरिएको छ । पर्यटकको आगमन बढेसँगै व्यवस्थित पदमार्ग बनाउन लागिएको वडाध्यक्ष गर्बुजाले बताए ।