बागलुङ, १९ जेठ– सञ्चार क्षेत्रमा नयाँ पुस्तालाई दक्ष बनाउन धौलागिरी एफएम बागलुङले आयोजना गरेको एक हप्ते रेडियो उद्घोषण, पत्रकारिता तथा प्राबिधिक तालिम शुक्रबार सकिएको छ । तालिममा १५ जना सहभागि थिए ।
तालिमको समापन गर्दैै धौलागिरी एफएम प्रा.लि.का अध्यक्ष हरिनारायण गौतमले सञ्चार क्षेत्र फराकिलो हुँदै गएको तर जनशक्तिको अभाव हुन थालेको बताए । नयाँ पुस्ताले सञ्चार क्षेत्रमा रहेको अबसरलाई पछ्याउन नसक्दा जनशक्ति अभाव हुन थालेको उनको धारणा थियो । पहिले जस्तो सञ्चार क्षेत्रमा चुनौती मात्रै नरहेको भन्दै गौतमले अवसरहरुलाई उपयोग गर्न युवालाई आग्रह गरे ।
कार्यक्रममा पत्रकार महासंघ बागलुङ शाखाका सचिव बिजय रानाले पत्रकारिता क्षेत्र पनि अन्य रोजगारीका क्षेत्र जस्तै भविश्य बोकेको क्षेत्र भएको बताए । रानाले नयाँ पुस्ताले पुरानो पुस्ताले भन्दा नयाँ र द्रुत गतिको विचार राख्नुपर्नेमा जोड दिए ।
तालिमको सहजीकरण एफएमका पूर्व स्टेशन म्यानेजर रामकृष्ण शर्मा, सम्पादक ताराप्रसाद शर्मा, पत्रकार प्रकाश बाराल, राम थापा, कोपिला कँडेल, तारानाथ आचार्य र कृष्ण संयोगले गरेका थिए । कार्यक्रममा प्रशिक्षकहरु प्रकाश बराल, कोपिला कँडेल, प्रशिक्षार्थी सुशिला पौडेल, सागर सुनारले बोलेका थिए । कार्यक्रममा स्वागत स्टेशन प्रमुख उमाकान्त शर्मा र सञ्चालन तारानाथ आचार्यले गरेका थिए ।