बागलुङ, २५ जेठ– ‘स्वास्थ्यको बजेट खर्च होइन, लगानी हो’ भन्ने नाराका साथ बडिगाड गाउँपालिकाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीका लागि एक दिने अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
स्थानीय स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि स्वास्थ्य क्षेत्रको नीतिगत तथा कानूनी दस्तावेज निर्माण गर्न अभिमूखिकरण गरिएको हो । गाउँपालिकामा रहेको बस्तुस्थिति विश्लेषण, प्राथमिकीकरण पछि योजना सम्बन्धी क्षमता विकास कार्यक्रम समेत गरिएको हो । यो कार्यक्रममार्फत स्वास्थ्य क्षेत्रको नीतिगत सुधार गरी स्वास्थ्यका नयाँ सूचक पुरा गर्ने लक्ष राखिएको छ ।
नीतिगत रुपमा सम्बोधन गरेपछि बजेटमा पनि स्वास्थ्य क्षेत्र प्राथमिकीकरण गर्नुपर्ने सहभागीले जोड दिएका थिए । बडिगाड गाउँपालिकाको आयोजना र स्वास्थ्य कार्यालय बागलुङको समन्वयमा भएको कार्यक्रममा नो होम डेलीभरीका लागि आवस्यक पर्ने सबै सूचकमा काम गर्ने प्रतिवद्धता समेत जनाइएको थियो । स्वास्थ्य संस्थाको स्तरीकरण, गाउँघर क्लिनिकलाई सुधारगर्ने, पूर्वाधार नपुगेको स्थानमा भवन लगायतका पूर्वाधार बनाउने काममा नीति र बजेट केन्द्रीत गर्ने बताइएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले स्वास्थ्य क्षेत्र गम्भिर भएको र त्यसमा पनि बडिगाडमा आमा सुरक्षा कार्यक्रम प्रभावकारी बनाउन पहल गरिने बताइन् । अधिकारीको अध्यक्षता, स्वास्थ्य शाखाका प्रमुख बिपेन्द्र केसी बिजयको संचालन र हेम पुनको स्वागतमा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारी, स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक देवप्रकाश घिमिरे र गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका स्वास्थ्य अफिसर्स अनिल भट्टराइले सहजीकरण गरेका थिए ।