बागलुङ, २७ जेठ– जिल्ला कारागार बागलुङमा क्षमता दोब्बर कैदीबन्दी राखिएको छ । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राख्दा विभिन्न समस्या निम्तिएका छन् ।
५० पुरुष र २५ महिला राख्न सक्ने क्षमताको कारागारमा हाल एक सय ६६ कैदीबन्दी राखिएको छ । कारागारमा हाल एक सय ५४ पुरुष, १० महिला कैदीबन्दी र दुई नाबालिका रहेका छन् ।
कारागारमा ठाउँ अभावले महिलाभन्दा पुरुष कैदीबन्दीलाई बढी समस्या भएको जिल्ला कारागार बागलुङ कार्यालय प्रमुख डिलबहादुर केसीले जानकारी दिए । पुरुष कैदीबन्दीलाई सुत्न समस्या भएपनि महिला कैदीबन्दीलाई हाल समस्या छैन ।
कारागारमा खानेपानीको समस्या समाधान गर्न आयोजनाको काम अघि बढेको । तित्याङबाट कारागारमा खानेपानी ल्याउन २० लाख बजेट स्वीकृत भएको छ ।
बागलुङ नगरपालिका वडा नं. ९ तित्याङस्थित रिठेखोलाको पानी कारागारमा ल्याउन सरसफाइ तथा खानेपानी डिभिजन कार्यालयले काम गरिरहेको छ । असार मसान्तभित्र कारागारमा मूलको पानी पु¥याउने डिभिजन कार्यालयको योजना छ ।