बागलुङ, ३० जेठ– राष्ट्रिय तथ्यांक कार्यालयले जारी गरेको जाति, भाषा र धर्म सम्बन्धि तथ्यांक सच्याउन माग गर्दै नेपाल मगर संघ बागलुङले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहतमा रहेको राष्ट्रिय तथ्यांक कार्यालयले जेठ १९ गते राष्ट्रिय जनगणना–२०७८ को तथ्यांक सार्वजनिक गरेको थियो । उक्त तथ्यांक सहि नभएको भन्दै मगर संघले सच्याउन माग गरेको हो ।
आदीबासी मगर जाती मध्येको एक ‘पुन’ थर गरेका मगरलाई राष्ट्रिय जनगाणनाले छुट्टै जाती भनेर तथ्यांक तयार गरेको भन्दै मगर संघले आपत्ति जनाएको हो । ‘आदिवासी जनाजति प्रतिष्ठान ऐन २०५८ बमोजिम सुचिकृत संख्यात्मक रूपमा सबैभन्दा धेरै संख्यामा रहेको आदिवासी मगर जाति भित्रको एक प्रमुख थरमध्ये ‘पुन’ हो र यो पुन छुट्टै जाति नभएर मगर समुदायभित्रकै एक महत्वपूर्ण थर हो’ बागलुङका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई बुझाईएको ध्यानाकर्षण पत्रमा भनिएको छ– ‘राष्ट्रिय तथ्यांक कार्यालयमा लिखित रुपमा पटक पटक ध्यानाकर्षण तथा ज्ञापन पत्र बुझाउँदा पनि हामीसंग यथोचित परामर्श नगरी हालसम्म एकढिक्का रहेको मगर जातिलाई फुटाउने दुरासयाले पुनको छुट्टै संख्या निकाल्ने जस्तो अक्षम्य गल्ती भएको छ ।’
तथ्यांक कार्यालयले गरेको गम्भीर त्रुटीले समाजमा भौतिक, मानसिक र नैतिक समस्या सृजना गरेको ध्यानाकर्षणमा उल्लेख छ । सरकारको यस प्रकारको त्रुटीले मिलेर बसेको मगर समुदायमा द्वन्दको बिजारोपण भएको हुनाले तुरुन्तै सच्याउनुपर्ने उनीहरुको माग छ । मगर संघले माग सम्बोधन नभएमा आफ्नो जातीय पहिचान अस्तित्वका लागि आन्दोलनमा जानुको विकल्प नरहेको चेतावनी दिएको छ ।