बागलुङ, २ असार– बर्षात् र गर्मी बढेपछि धौलागिरि अस्पतालमा डेंगीका शंकास्पद बिरामी देखिन थालेका छन् । कतिपय बिरामीलाई डेंगी भएको आशंकामा सोही प्रकारको उपचार गरिएको छ । ती शंकास्पदहरुको रगतको परीक्षण थालिएको स्वास्थ्यकर्मीले बताए ।
बर्षात् लागेपछि डेंगी रोगको संक्रमण बढेर जाने भएकोले बागलुङ नगर स्वास्थ्य शाखाले सबैलाई सचेत रहन आग्रह गरेको छ । चालु बर्ष बागलुङमा १ सय ५९ जनामा डेंगी लागेको थियो । यो रोगको छुट्टै उपचार नभएकोले लक्षणको आधारमा उपचार गर्ने गरिएको नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताए ।
डेंगीबारे सचेतना फैलाउने, डेंगी सार्ने लामखुट्टे बस्ने स्थानको खोजी गर्ने, डेंगीका शंकास्पद बिरामी भए तत्काल उपचारमा लैजाने र लामखुट्टेको टोकाइबाट बच्ने उपायबारे शाखाले शुक्रबार अभिमूकीकरण गरेको छ । नगरप्रमुख, वडा अध्यक्षहरु, नगरपालिकाका सबै शाखाका कर्मचारी, पत्रकार लगायत सरोकारवालासँग गरिएको अभिमूखीकरणमा प्रस्तुतीकरण गर्दै नगर स्वास्थ्य शाखाका प्रमुख खनालले बर्षामा बढ्न सक्ने समस्या बारे पहिलेनै सचेत बन्न आग्रह गरेका थिए ।
उनले पानी जम्ने स्थानमा सरसफाइ गर्ने, टायर, ड्रम, गमला लगायतका पानी जमाएर राखिएका भाँडा खाली गर्ने, लामखुट्टेबाट बच्न झुल टाँगेर सुत्ने जस्ता सचेतना अपनाउन आग्रह गरेका थिए ।
कार्यक्रममा नगर अस्पतालकी प्रमुख डा. गरिमा खनालले डेंगी रोग लागेपछि शरीर दुख्ने, ज्वरो आउने समस्या बढी हुने बताइन् । उनले सन् २००४ मा नेपालमा पहिलो पटक डेगी देखिए पनि त्यतिबेला नगन्य मानिसमा मात्र लागेकोमा यो क्रमशः बढेर हजारौंमा पुगेको जानकारी गराइन् । अहिले बर्षेनी १० हजार बढी मानिस बिरामी पर्ने र केहीमा मृत्यु समेत हुने गरेको तथ्यांक उनले प्रस्तुत गरेकी थिइन् ।
डेंगी सार्ने लामखुट्टेले सफा पानी अण्डा पार्ने भएकोले पानी जम्न नदिने, फुल रोपेको गमलामा समेत पानी फेरिरहनुपर्ने उनले सुझाव दिइन् । दिउँसोको समयमा लामा बाहुला भएको कपडा लगाउने, रातमा झुल टाँगेर सुत्दा अन्य सरुवा रोगबाट पनि बच्न सकिने उनको सुझाव थियो ।
कार्यक्रममा नगर प्रमुख बसन्तकुमार श्रेष्ठले आम नागरिकलाई डेंगीबारे सचेतना फैलाउनुपर्ने बताए । त्यसका लािग आम संचारका माध्यम, पत्रकार र नागरिक समाजका अगुवाहरुको भूमिका महत्वपूर्ण हुने बताए ।