बागलुङ, ७ असार– जिल्लाको जैमिनी नगरपालिकाले आफ्ना नागरिकको स्वास्थ्य उपचारलाई सरल र सहज पहुँचका लागि ‘जैमिनी नागरिक स्वास्थ्य उपचार कोष स्थापनादेखि नगरलाई उत्कृष्ट शैक्षिक गन्तव्यको रुपमा विकास गर्न ‘लिड स्कुल’को प्रारम्भिक कार्य गरी भौतिक, आर्थिक र शैक्षिक व्यवस्थापनमा जोड दिने भएको छ ।
आगामी आर्थिक वर्ष ८०/८१ मा स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिने नीति लिएको जैमिनीले विपन्न नागरिक निशुल्क स्वास्थ्य बिमा कार्यक्रम, विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच समुदायसम्म विस्तार गर्न एकीकृत स्वास्थ्य शिविर, पाठेघरको निशुल्क अप्रेसनको व्यवस्था, किशोरकिशोरीलाई स्वास्थ्य संस्था र विद्यालयसंगको समन्वयमा विद्यालय नर्स कार्यक्रम संचालन गर्ने भएको छ ।
नागरिकहरुको स्वास्थ्यकर्मीबाट समुदाय स्तरमा तथ्यांक संकलन गरी बिरामीको स्वास्थ्य परीक्षण र उपचारको लागि घर घरमा स्वास्थ्यकर्मी सेवा कार्यक्रम संचालन गरिनुको साथै प्रविधिमैत्री उपचार सेवा कार्यक्रममार्फत नागरिकसम्म विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने, गर्भवती आमा र बच्चाको स्वास्थ्य सुरक्षाका लागि गर्भवतीको साथी पोषण लगायतका कार्यक्रम संचालन गर्ने, कालिगण्डकी करिडोरमा सडक अस्पताल निर्माणको लागि जग्गा प्राप्तीका लागि पहलसंगै तत्काल सडक सहरी स्वास्थ्य केन्द्र स्थापना गर्ने जैमिनीले नीति लिएका छ ।
पालिका प्रमुख नरबहादुर पुनले बुधबार नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कृषिबाट समृद्वि तथा कृषिबाट गरिबी निवारणका लागि किसानलाई उत्पादन र बिक्रीका आधारमा प्रोत्साहन अनुदान दिने, बाँझो जमिन एकीकृत गरी फलफुल र मसला बाली विकास तथा घाँस विकास कार्यक्रम संचालन गर्ने, सिस्नो, बाँको, कर्कलो, सिरिम्ले मकै, कोदो र जुनेलो बाली संरक्षण गरिने, मासु उत्पादनका लागि ‘बफेलो काफ’ होस्टल कार्यक्रममार्फत मासु र दुधको गुणस्तर, प्याकेजिङ, संकलन तथा चिस्यान केन्द्र व्यवस्थापनका लागि सहयोग गरिने जानकारी दिए ।
पुरानो गाउँ क्षेत्रलाई कृषि क्षेत्रको संरक्षण, वन्यजन्तु व्यवस्थापन तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सम्बद्ध निकायसँग समन्वय गरी प्राकृतिक चिडीयाखाना तथा बाँदर बगैंचाको सम्भाव्यता अध्ययनसहितका कार्य अघि बढाइने, जैमिनीधाम, भैरवस्थान, गाजादह, हाडिकोट, पुरानो गाँउ, गाइथुने पुतलेगरालाई एकीकृत गरि पर्यटकीय पदैलमार्गको निर्माणसंगै पर्यटन रुटको विकास गर्ने, जडीबुटी उद्योग स्थापनाका लागि लगानी आकर्षित गर्ने जैमिनीको आगामी नीति छ ।
लैंगिक हिंसा निवारण जोड कोषका लागि बजेट व्यवस्था, दलित समुदायको परम्परागत सिप, कला र प्रविधिको संरक्षण सम्बर्द्धन गर्नको लागि जैमिनीको जैदीमा राष्ट्रिय दलित संग्रहालय तथा अनुसन्धान केन्द्र स्थापना गरिने, बेरोजगार युवालाई सूचीमा सूचिकृत हुनका लागि श्रमको सम्मान, राष्ट्रको अभियान कार्यक्रम सञ्चालन गर्ने जैमिनीले नीति तथा कार्यक्रम बनाएको छ ।
बिकट र आवश्यक देखिएका बस्ती केन्द्र जोड्ने आवश्यक सडकबाहेक नयाँ सडक खोल्ने कार्य पुर्ण रुपमा बन्द गरिने, नगरभित्रका सबै सडकलाई मुख्य सडक, सहायक सडक र टोलबस्तीका सडकमा विभाजन गरी प्राथमिकीकरण गरी स्तरोन्नती गरिने र नगरपालिकाबाट विगतका वर्षहरुदेखि सञ्चालनमा रहेका १३ वटा दिगो सडकलाई क्रमशः सुधार विस्तार गर्ने कार्यलाई नीति तथा कार्यक्रम जोड दिइएको छ ।
नगरपालिका प्रमुख पुनले प्रस्तुत गरेको नीति तथा कार्यक्रम नगरसभाले पारित गरेको छ । नगरसभाले जैमिनी नगर शिक्षा ऐेन २०८० पास गरेको नगर शिक्षा प्रमुख खेम आचार्यले जानकारी दिए । कार्यक्रममा स्वागत नगर उपप्रुमख हरिहर शर्मा र संचालन प्रमुख प्रशासकिय अधिकृत चेतनाथ गिरीले गरेका थिए ।