म्याग्दी, १३ असार– धवलागिरि गाउँपालिका वडा नं. १ गुर्जामा अझै सडक यातायातको सुविधा पुगेको छैन । गुर्जा पुग्न धवलागिरि गाउँपालिकाको वडा नं. २ लुलाङबाट दिनभर पैदलयात्रा गर्नुपर्छ । घोडा, खच्चर र भरियामार्फत सामान ढुुवानी गर्नुपर्छ ।
दुर्गम र विकट बस्तीमा सञ्चालन भएको गुर्जा खानेपानी आयोजना निर्माण लक्ष्यभन्दा अघि सकिएको छ । ढिलासुस्तीले विकास आयोजना थलिएको अवस्थामा गुर्जा खानेपानी आयोजनाको काम लक्ष्यअघि नै सम्पन्न भएको हो ।
गुर्जाका अध्यक्ष झक छन्त्यालले निर्माण व्यवसायीको इच्छाशक्ति, व्यवस्थापन र सरोकारवालाको सहजीकरण तथा समन्वय हुने होभने विकास आयोजनामा हुने ढिलासुस्ती हटाउन सकिने सन्देश गुर्जा खानेपानी आयोजनाले दिएको बताए ।
‘ठूला भनिएका ठेकेदारले जिम्मा लिएका आयोजना अलपत्र परेको अवस्थामा गुर्जा जस्तो विकटको काम निर्धारित समयअघि सकिएको छ’ उनले भने, ‘इच्छाशक्ति हुने हो भने विकास आयोजनामा हुने ढिलासुस्ती हटाउन सकिने रहेछ ।’
कुल ५० लाख लागत अनुमान गरिएको गुर्जा खानेपानी आयोजना निर्माणका लागि धवलागिरि गाउँपालिका र बेनीको बिएन्डडी निर्माण सेवाबीच २०७९ चैत १४ गते ठेक्का सम्झौता भएको थियो । ४४ लाख ७८ हजार एक सय १२ रुपैयाँमा भएको सम्झौताको म्याद असार १५ गतेसम्म थियो ।
निर्माण कम्पनीका प्रतिनिधि गोर्खा छन्त्यालले असार १० गते नै सम्झौताअनुसारको सबै काम सम्पन्न गरेको जानकारी दिए । काम सुरु गरेको ४३ दिनमा सम्पन्न गरेको उनले बताए । साउनाखोलाको मुहानमा इन्टेकहुँदै गुर्जा गाउँसम्म ६३ एमएमको तीन हजार चार सय ८० मिटर मुख्य पाइपलाइन बिछ्याइएको छ ।