प्रतिकात्मक तस्बिर
म्याग्दी, २१ असार– उत्तरी क्षेत्रहुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत भुरुङखोलामा दुई हप्तामै बेलीब्रिज जडान गरिएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं. २ मा पर्ने भुरुङखोलामा करिब ३५ लाखको लागतमा ३० मिटर लामो बेलीब्रिज जडान गरिएको बेनी–जोमसोम–कोरला सडक आयोजना प्रमुख जगत् प्रजापतिले जानकारी दिए ।
मुस्ताङको लेतेखोलाको बेलीब्रिजलाई भुरुङखोलामा स्थानान्तरण गरिएको हो । ‘भुरुङखोलामा आएको बाढीले कल्भर्ट बगाएको थियो’ उनले भने, ‘बर्खामा बाढी आउँदा बेनी–जोमसोम सडकमा सहज यातायातका लागि बेलीब्रिज राखिएको हो ।’
असार पहिलो साता सुरु गरिएको बेलीब्रिज जडानको काम सकिएर यातायातका साधन आवतजावत गर्न थालेको अन्नपूर्ण गाउँपालिकाका कार्यपालिका सदस्य वीरबहादुर पौडेलले बताए । ‘म्याग्दी र मुस्ताङबासीसंगै पर्यटक र तीर्थयात्री समस्यामा परेका थिए । बेलीब्रिजले सहज भएको छ’ पौडेलले भने ।
यस्तै, बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको दानास्थित रुप्सेखोलामा ४५ मिटर लामो बेलीब्रिज जडानको काम अन्तिम चरणमा पुगेको छ । रुप्सेखोलामा बेलीब्रिज जडान र नजिकैको पहिरो हटाउन मुक्तिनाथ निर्माण सेवाले तीन करोड ५६ लाखमा ठेक्का सम्झौता गरेको थियो ।
असार महिनाभित्रै रुप्सेको बेलीब्रिजमा यातायातका साधन सञ्चालन हुनेगरी तीव्रताका साथ जडानको काम भइरहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिए ।