बागलुङ, २१ असार– विपतपछि खोजी र उद्दार गर्ने पुरानो चलन परिवर्तन गरेर बागलुङको सरकारी तहबाटै बिपत पूर्व तयारी तथा प्रतिकार्य योजना बनाइएको छ ।
यसअघि सामान्य योजनाको रुपमा राखेर काम गरिएकोमा यो पटक पुस्तक आकारमा प्रकाशित गरेर आम नागरिकलाई समेत जानकारी गराइएको हो । बुधबार एक कार्यक्रमको आयोजना गरी जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले योजनाको सार्वजनिकीकरण गरे ।
जिल्ला प्रशासन कार्यालय, नेपाल रेडक्रस सोसाइटी र गैरसरकारी संस्था महासंघ जिल्ला शाखाले योजना बनाएका हुन् । योजनामा विपतको बेला परिचालन गर्ने टोली, विपत पूर्व जानकारी गराउने र त्यसको अध्ययन अनुसन्धान गरेर विपतबाट क्षति न्युनिकरण गराउने तरिकाको खोजी गरिने बताइएको छ ।
जिल्लाको संस्थागत क्षमताको आंकलन गर्ने, स्थानीय तहलाई बढी जिम्मेवार बनाउने, नीजि तथा गैरसरकारी क्षेत्रको काम तथा उनीहरुको योजना विश्लेषण गर्ने र घटना भैहालेमा छिटो परिचालन गरी खोजी उद्दारमा सक्रिय बन्ने योजनामा उल्लेख छ ।
बागलुङमा यसअघिका ठूला ठूला विपतको लेखाजोखा समेत योजनामा गरिएको छ । ठूला जोखिमबाट पाठ सिकेर आगामी दिनमा हुन सक्ने विपतमा प्रतिकार्य योजनामा विपतमा सर्तकता अपनाउने लक्ष पनि राखिएको ।
बागलुङको निसीखोलाका अधिकांस गाउँ, ढोरपाटन नगरपालिकाका ग्रामीक्ष क्षेत्र, जलाधार क्षेत्रहरु र ती जलाधार क्षेत्रको आसपासमा बस्ने नागरिकको सुरक्षाका लागि योजनाले चासो राखेको छ । नदी तथा खोला निकटमा बस्ने स्थानीयको तथ्यांक संकलन गरेर उनीहरुलाई आवस्यक पर्दा स्थानान्तारण गर्न सकिने संभावित क्षेत्रबारे पनि अध्ययन गरिएको हो ।