बागलुङ, २ साउन– बागलुङ नगरपालिकाले बिपतका बेला चाहिने सवारी साधनको एकीकृत सेवा दिने आपतकालिन कार्य संचालन केन्द्र स्थापना गरेको छ । सोमबार एक कार्यक्रमका बीच जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले केन्द्रको उद्घाटन गरे ।
आपत बिपत परेको बेला दमकल, एम्बुलेन्स, शब बाहन, डोजर र अन्य उद्दारका सवारी साधन एकै स्थानबाट छिटो र भरपर्दो तरिकारले परिचालन गर्न यो केन्द्र स्थापना गरिएको नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बताए । पुरानो शान्ति समिति रहेको स्थानमा मर्मत गरेर केन्द्र स्थापना गरिएको हो ।
केन्द्र उद्घाटन गर्दै समन्वय समितिका प्रमुख अमरबहादुर थापाले बिपत बाजा बजाएर नआउने भएकोले जतिबेला जुनसुकै स्थानमा परिचालन हुने केन्द्रले क्षति न्युनिकरणमा साथ दिने बताए । उनले यस्ता केन्द्र सबै पालिकामा बन्नुपर्ने र ती केन्द्रहरु व्यवस्थित र आबस्यक पर्दा तत्काल परिचालन हुने खालको बन्नुपर्ने बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले संघियता स्थापना पछि बिपत व्यवस्थापनको पहिलो सरकारको रुपमा स्थानीय तहलाई मानेको भन्दै स्थानीय सरकारकै अगुवाईमा अन्य सुरक्षा निकाय पनि संचालन हुने बताइन् ।
यो केन्द्र मार्फत मानवीय श्रोत समेत परिचालन गर्ने व्यवस्थापन गरिने नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बताए । यो केन्द्रबाट संचालन हुने सेवा निशुल्क समेत हुने उनले जानकारी दिए । यहाँबाट संचालन हुने एम्बुलेन्सले ग्रामीण तहबाट धौलागिरि अस्पताल सम्म बिरामी ल्याउने काम निशुल्क गर्ने भएको हो ।
छिमेकी जिल्ला पर्वतको कुश्मा र म्याग्दीको बेनी नगरपालिकासँग पनि सहकार्य गरेर तीन वटा नगरका तीनवटा दमकल तयारीमा राख्ने व्यवस्थापन पनि भएको हो । बागलुङ नगरपालिकाले केन्द्रमै दमकलमा कम्तिमा दुइ खेप स्वचालित मेसिनबाट पानी भर्ने व्यवस्था पनि गरेको छ । १२ मीनेटमा दमकल भरेर पठाउन सकिने गरी प्रविधि जडान भएको छ । नगरपालिकाको तर्फबाट २ जना बिपत व्यवस्थापनका तालिमप्राप्त कर्मचारी सहित तीन जना चालक समेत यहीं बस्ने व्यवस्था गरिएकोले तत्काल उद्दारमा सहजीकरण हुने जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले बताए । ‘एकीकृत खोजी उद्दारको काम गर्दा प्रभावकारी हुन्छ’ थापाले भने, ‘यो अभ्यासले जनताले समयमा राहत र उद्दार पाउनेछन् ।’