बागलुङ, ७ साउन– नेपाली कांग्रेस बागलुङले वडा तहसम्म सम्मेलन गर्ने भएको छ । पार्टीलाई सुदृढ बनाउन वडा तहदेखि जिल्ला सम्मेलन सम्मको कार्यतालिका तयार भएको नेपाली कांग्रेस जिल्ला कार्यसमिति बागलुङका सचिव हरिहर शर्माले जानकारी दिए ।
कांग्रेस बागलुङको बिहिबार बसेको बैठकले साउन २२ गतेदेखी असोज ६ गतेसम्म वडा, गाउँ/नगर, प्रदेश सभा क्षेत्रीय समिति, प्रतिनिधि सभा क्षेत्रहुँदै जिल्ला सम्मेलनको मिति तय गरेको हो ।
साउन २२ गते जिल्लाका ८५ वटै वडामा वडा सम्मेलन हुनेछ भने साउन २७ गते १० वटै स्थानीय तहमा गाउँ वा नगर सम्मेलन हुने सचिव शर्माले बताए ।
त्यसैगरी साउन ३१ गते प्रदेश सभा क्षेत्रीय सम्मेलन, भाद्र २४ गते प्रतिनिधि सभा क्षेत्रीय सम्मेलन हुने छ । सबै तहमा सम्मेलन सकिएपछि असोज ६ गते जिल्ला सम्मेलन हुने काँग्रेस बागलुङले जनाएको छ ।
बैठकले पार्टीका हरेक गतिविधिलाई प्रभावकारी बनाउन विस्तृत योजनासहित वार्षिय क्यालेन्डर बनाउने निर्णय गरेको छ । वार्षिक क्यालेन्डरको ड्राफ्ट तयार भैसकेको र यसलाई छलफल गरी पुर्णता दिइने सचिव शर्माले बताए ।
बैठकमा निर्माणाधिन विपि स्मृति भवनको लागि आर्थिक संकलन र व्यवस्थापनलाई प्रभावकारी बनाउन विभिन्न देशमा रहेका गैरआवसीय नेपाली जनसम्पर्क समिति र संघसंस्था र व्यक्तिहरुसँग समन्वय गरी आर्थिक सहयोग संकलन गर्न सभापति जित शेरचनको संयोजकत्वमा विभिन्न देशमा अभियान संचालन गर्ने निर्णय गरेको छ ।
नेपाली काँग्रेस बागलुङले सहकारीमार्फत ठगी गर्नेलाई तत्काल कानुनी दायरामा ल्याउनुपर्ने माग गरेको छ । बैठकमार्फत बागलुङमा संचालित ईमेज र र शिव शिखर सहकारीका संचालकलाई तत्काल कानुनी दायरामा ल्याउन माग गरिएको छ ।