बागलुङ, १४ साउन– जिल्लाको निसीखोला गाउँपालिका–६ पातीहाल्ने नजिकैको जंगलमा बेवारिसे शव फेला परेको छ । इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजेश शर्मा अधिकारीले पातीहाल्ने नजिकै सडेको अवस्थामा एक व्यक्तिको शव फेला परेको जानकारी दिए ।
शव कंकाल बनिसकेकाले धेरै दिनअघि मृत्यु भएको हुनसक्ने अधिकारीको भनाई छ । शव सडेको अवस्थामा रहेकोले पहिचान गर्न नसकेको अधिकारीले बताए । जिल्ला मातहतका प्रहरीचौकीमा खबर गरेको उल्लेख गर्दै उनले छिमेकी जिल्ला रोल्पा र रुकुममा पनि जानकारी गराएको बताए ।
पातीहाल्ने जंगलमा पुगेका स्थानीयले शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै घटनास्थलमा पुगेको प्रहरी टोलीले शवलाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएको थियो ।