बागलुङ, ३० साउन– शिक्षा बिधेयक २०८० का प्रावधानमा ५१ बुँदे माग राख्दै नेपाल शिक्षक महासंघले मंगलबार शिक्षा विकास तथा समन्वय इकाईमा धर्ना गरेका छन् । उनीहरुले सरकारले हालै ल्याएको शिक्षा बिधेयकका अधिकांस प्रावधान फेर्नुपर्ने सुझाए ।
महासंघको नेतृत्वमा भएपनि शिक्षकका पेशागत संगठनहरु सडकमा उत्रेका हुन् । उनीहरुले आइतबार देशभरका ७ सय ५३ वटा स्थानीय तहमा बिरोधका कार्यक्रम सम्पन्न गरेका थिए । मंगलबार इकाइको धर्नामा उत्रेका हुन् । बिहिबार फेरी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय घेराउ गर्ने योजना बनाएका छन् ।
बिधेयक आएपछि संस्थागत बिद्यालयका संचालकले पनि बिरोध जनाएका थिए । उनीहरुले संस्थागत बिद्यालयलाई गुठीमा लैजाने गरी बिधेयकमा व्यवस्थाप भएकोमा बिरोध गरेका थिए । सामुदायिक बिद्यालयका शिक्षकहरुले भने शिक्षक र निजामती कर्मचारीबीच बिभेद भएकोमा एकरुपता हुनुपर्ने, १७ थरी शिक्षक हटाएर एकैथरी बनाउनु पर्ने पेशागत सुरक्षा तथा नेपाल शिक्षक महासंघ र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबीच भएका ३० बुँदे र ५१ बुँदे सहमतिका बुँधा समावेश गर्नुपर्ने माग गरेका हुन् ।
मस्यौदाले स्थायी, अस्थायी, करार, राहत, साविक उमाबि, बालकक्षा, बिशेष शिक्षा, शिक्षण सिकाइ अनुदान, प्राविधिक धार, संस्थागत बिद्यालयका शिक्षकलगायत सबैको माग सम्बोधन नगरेको आरोप छ । स्थानीय तहमा जाँदा कर्मचारीले एक तह बढुवा पाएको तर शिक्षकले केही नपाएको उनीहरुले टिप्पणी गरे । कतिपय शिक्षकले अस्थायी भन्ने पद नै नराख्न पनि माग गरे ।
२०२८ सालको शिक्षा ऐनपछि अहिलेसम्म अर्को ऐन आएको छैन । शिक्षकहरुले यो ऐनको नाम बिद्यालय शिक्षा ऐन भनेकोमा शिक्षकको चित्त दुखाइ छ । उनीहरुले बिद्यालय भनेर छुट्टै बिषय नराख्न आग्रह पनि गरेका छन् ।
मंगलबारको धर्ना कार्यक्रमपछि नेपाल शिक्षक महासंघका केन्द्रीय सदस्य पुस्कर सापकोटा, नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सदस्य गोबिन्द भण्डारी, नेपाल शिक्षक संघका अध्यक्ष उमाकान्त पौडेल, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष गंगाकुमारी शर्मा, अखिल नेपाल शिक्षक संघका अध्यक्ष मित्रदत्त ढकाल, एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष बीरबहादुर चोखाल, प्रगतीशिल शिक्षक संघकी जिल्ला अध्यक्ष जमुना बुढाथोकी, हिस्टोनका अध्यक्ष बिक्रम पौडेल, प्रगतीशिल शिक्षक संगठनका अध्यक्ष चुडामणी सुवेदी, राहत शिक्षक हरि कुँवरले बोलेका थिए ।
शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख युक्तप्रसाद पौडेललाई ज्ञापनपत्र समेत बुझाइएको कार्यक्रमको अध्यक्षता नेपाल शिक्षक महासंघ बागलुङका अध्यक्ष कृष्णप्रसाद पौडेलको अध्यक्षता, नेपाल शिक्षक संघका सचिव राजेन्द्र पौडेलको संचालन तथा नेपाल शिक्षक महासंघका उपाध्यक्ष छविरमण रेग्मीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।