बागलुङ, १९ भदौ– कांग्रेस महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनहरु कांग्रेस एक्लै लड्ने बनाउने बताएका छन् । उनले सबै खालका निर्वाचन हारेपनि कांग्रेस एकलै निर्वाचनमा जानबाट नडराउने समेत बताएका छन् ।
नेपाली कांग्रेसको बागलुङ क्षेत्र नं. १ को क्षेत्रीय सम्मेलनको मंगलबार उद्घाटन गर्दै थापाले निर्वाचन अघि गरिएको गठबन्धनले कार्यकर्ताको साख गिरेको बताएका छन् । ‘जीवनभर कांग्रेस भएर हिडेकालाई अर्काको चिन्हमा मतदान गर्न लगाउँदा कांग्रेसजनमा निरासा छाएको छ’ उनले भने, ‘अब त्यस्तो हुँदैन, एक्लै लड्ने कांग्रेस बन्छ ।’ गत निर्वाचन अघिपनि थापाले फरक मत राखेर एक्लै लड्न चाहेको स्मरण गरेका थिए ।
उनले पार्टी भित्रको लोकतन्त्र बलियो बनाउन निर्वाचन पद्दतीलाई पनि परिवर्तन गर्ने बताएका छन् । चुनावका बेला नेताले टिकट दिने पद्दती सच्याएर कार्यकर्ताको मतबाट जितेकोले मात्र टिकट पाउने व्यवस्थापन गर्न महासमितिमा एजेण्डा लैजाने थापाको भनाइ छ । टिकटका लागि दाइ र भाउजुको चाकरी गर्नुपर्ने व्यवस्था बदल्न यो पद्दती ल्याउन खोजेको उनको भनाइ छ ।
आसन्न महासमितिको बैठकमा महामन्त्री थापाले उक्त एजेण्डा लगेर बिधान परिवर्तन गर्न पहल गर्ने बताएका छन् । १ सय ४ बर्षको राणा शासन र ३० बर्षको पंचायत फालेको कांग्रेसले आन्तरिक राजतन्त्र फाल्न नसकेको टिप्पणी गरे ।