बागलुङ, २१ भदौ– सामाजिक न्याय र आर्थिक सशक्तीकरण : मानव बेचबिखन निर्मुलन भन्ने नाराका साथ १७ औं मानव बेचबिखन बिरुद्धको दिवश बुधबार मनाइएको छ । बागलुङ नगरपालिकासहित बिभिन्न स्थानीय तहमा कार्यक्रम गरी दिवश मनाइएको हो ।
दिवशको शुभारम्भ गर्दै बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले बेचबिखनलाई जरैबाट उन्मुलन गर्न राज्यको नीतिमा सुधार हुनुपर्ने बताए ।
‘पछिल्लो समय गैरकानूनी रुपमा बैदेशिक यात्रा गर्ने पद्दतीले बेचबिखनलाई मलजल मिलेको छ’ श्रेष्ठले भने, ‘पहिला महिला मात्रै बेचिन्थे, अहिले पुरुष बढी बेचिएका छन् ।’ रोजगारीको नाउँमा लाखौं रकममा युवा बेचिएको श्रेष्ठको भनाई थियो ।
कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले चेलीबेटी बेचबिखन गर्ने गिरोहहरु अहिले परिमार्जन भएर श्रमसँग जोडिंदै पैसा कमाउने धन्दामा लागेको बताए । पहिला चेलीबेटीलाई यौनधन्दामा लगाउन बेच्नेहरु अहिले निकृष्ठ श्रममा लगाएर बेच्ने गरेको पोखरेलको धारणा थियो ।
२०६४ सालमा नेपालमा भएको सार्क सम्मेलनले पारित गरेको महासन्धीपछि सरकारले ऐन ल्याएको दिनको स्मरणमा मानव बेचबिखन बिरुद्धको दिवश मनाउन थालिएको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख सरस्वती देवी रेग्मीले बताइन् । रेग्मीका अनुसार बेचबिखनमा पर्नेमा महिला ९५ प्रतिशत रहेका छन् ।
उक्त अबसरमा कलाकार सूर्यप्रसाद चापागाईले मानव बेचबिखन रोक्न घर घरबाट पहल थाल्नुपर्ने बताए । त्यसका लागि स्थानीय तहले सचेतनामूलक स्टिकर बनाएर टाँस्ने र बिद्यालयमा सचेतनामूलक अभियान चलाउनु पर्ने चापागाईको धारणा थियो ।