बागलुङ, २४ भदौ– हरितालिका तीज नजिक आइरहेको बेला बिभिन्न संघसंस्थाले धमाधम तीज बिशेष कार्यक्रम संचालन गरिरहेका छन् । अधिकांसले दरखाने कार्यक्रम गरिरहेका छन् । होटल व्यवसायी संघ बागलुङले भने फरक ढंगले तीज बिशेष कार्यक्रम मनाएको छ ।
शनिबार मानव सेवा आश्रम बागलुङमा पुगेर अनाथ व्यक्तिहरुलाई मिठो मसिनो दर खुवाएर कार्यक्रम गरेको हो । उक्त अबसरमा आश्रमका आश्रित ५० जनालाई दर खुवाइएको थियो । ‘आँफै रमाएर नाच्ने नचाउने भन्दा पीडितहरुलाई एकछाक भएपनि खाना खुवाउने लक्षले आश्रममा तीज बिशेष कार्यक्रम गरिएको हो’ होटल व्यवसायी संघ बागलुङका अध्यक्ष निलेस राजभण्डारीले भने, ‘आश्रममा पनि तीज आएझै रमझम भयो ।’
कार्यक्रमले आश्रमका पीडितलाई पनि चाडपर्वमा साथ दिनेहरु रहेछन् भन्ने अबस्था आएको संचालक बिपना तामाङले बताइन् । संघका अध्यक्ष निलेस राजभण्डारीको अध्यक्षता, उपाध्यक्ष तालबहादुर कुँवरको स्वागत र आश्रम संचालक बिपना तामाङको संचालनमा सम्पन्न कार्यक्रममा व्यवसायी ललिता थापाले तिजलाई तडकभडक बनाउनुभन्दा समस्यामा परेकालाई साथ दिनु राम्रो भएको बताइन् ।