बागलुङ, २४ भदौ– जेसिज बागलुङले हरेक वर्ष प्रदान गर्ने ‘जेसिज वर्ष सम्मान’ यो वर्ष शिक्षा र प्रविधिको क्षेत्रमा उत्कृष्ट युवाहरूलाई प्रदान गरिएको छ । जिल्लामा शिक्षा क्षेत्रमा उत्कृष्ट अंक ल्याउने धवलागिरि बुहुमुखी क्याम्पसकी छात्रा प्रतिक्षा गौतम र प्रविधिको क्षेत्रमा उत्कृष्ट काम गरेका टेकनारायण कँडेललाई सम्मान प्रदान गरिएको हो ।
गौतमले धवलागिरि बहुमुखी क्याम्पसबाट बिबिए सातौँ सेमेस्टरमा त्रिभुवन विश्वविद्यालयमै उत्कृष्ट नतिजा ल्याएकी थिईन् । देशभरमै चार जिपिए ल्याउने एक्ली छात्रा बनेर बागलुङ र गण्डकी प्रदेश चिनाएको भन्दै जेसिजले उनलाई सम्मान गरेको हो ।
बागलुङका ग्रामीण क्षेत्रमा इन्टरनेट र सिसीटिभी नेटवर्क विस्तार गरिरहेका कँडेललाई दुर्गममा सेवा प्रदान गरेबापत सम्मान गरिएको जेसिज बागलुङका महासचिव एञ्जिला शाक्यले बताइन् । जेसिजले हरेक वर्ष विभिन्न क्षेत्रमा योगदान युर्याउने १८ देखि ४० वर्ष उमेर समूहका युवाहरूबाट छनोट गरेर सम्मान गर्ने गरेको छ ।
बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले उहाँहरूलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । युवाहरुको नेतृत्व र क्षमता विकासमा सक्रिय बागलुङ जेसीजले जेसीज सप्ताह–२०२३ बिभिन्न कार्यक्रम सहित शनिबारदेपखि शुरु गरेको छ । ७ दिनसम्म बिभिन्न कार्यक्रमका साथ मनाउन शुरु गरिएको हो ।
कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका नगरप्रमुख श्रेष्ठले हरेक क्षेत्रलाई सफल बनाउका लागि चिन्तन आवश्यक रहेको बताए । उनले चिन्तनले मात्रै कामको चिन्ता जगाउने र चिन्ताले मानिसलाई कामका लागि तत्पर बनाउने बताए ।
कार्यक्रममा बागलुङ जेसीजका संस्थापक अध्यक्ष श्याम श्रेष्ठ, नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष रजनी थापा, राष्ट्रिय उपाध्यक्ष चन्द्रमणी भुषालले बोलेका थिए ।
त्यसैगरी पर्वत जेसीजका अध्यक्ष बिनोद आचार्य, बागलुङ उद्योग बाणिज्य संघका द्धितीय उपाध्यक्ष सञ्जयकुमार श्रेष्ठ, पत्रकार महासंघ बागलुङका सचिव बिजय राना, बागलुङ जेसीजका दिर्घकालिन कार्यक्रम संयोजक ताराप्रसाद शर्मा र सम्मानित व्यक्ति प्रतिक्षा गौतमले बोलेका थिए भने सप्ताहका वारेमा मुल संयोजक गणेश महतोले जानकारी गराए ।
कार्यक्रम बागलुङ जेसीजका शाखा अध्यक्ष सौरभ श्रेष्ठको अध्यक्षता, लिडर्स अध्यक्ष दिवाकर शाक्यको स्वागत र महासचिव अञ्जिला श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।