बागलुङ, २८ भदौ– गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीले यातायात क्षेत्रको बिचौलीया अन्त्य गर्ने बताएका छन् । उनले गैरकानूनी काम गर्ने प्रवृत्ति ठप्प पार्ने बताएका छन् ।
बागलुङमा बुधबारदेखि शुरु भएको चारपाङग्रे सवारीको लाइसेन्स प्रयोगात्मक परीक्षाको उद्घाटन गर्दै मन्त्री जुग्जालीले आम नागरिक र यातायात व्यवस्था कार्यालयको निगरानीमा सुशासन शुरु हुने बताए । ‘पहिला यातायात क्षेत्र भनेपछि भ्रष्ट क्षेत्र भन्ने छाप परेको छ, यो अब हट्नुपर्छ’ उनले भने, ‘आम नागरिकले चासो राखिरहेका छन्, कर्मचारी र जनप्रतिनिधि तथा यातायात क्षेत्रका सरोकारवाला मिलेर अनियमितता रोक्नुपर्छ ।’ त्यसका लागि लाइसेन्स बितरणदेखिकै सुशासन शुरु गर्ने उनले बताए ।
यातायात क्षेत्रमा बिचौलिया रोकेर आम सेवाग्राहीले आँफै सेवा पाउने र क्षमताको आधारमा लाइसेन्स लिने व्यवस्थाले देशको दुर्घटना न्युनिकरणमा पनि सुधार हुने उनले बताए । फलानो स्थानमा लाइसेन्स सजिलै पाइन्छ भन्ने सन्देश गयो भने नराम्रो हुने भन्दै उनले ट्राफिक र यातायात व्यवस्था कार्यालयका कर्मचारी तथा ड्राइभिङ स्कुलका प्रतिनिधिलाई चेतावनी दिए ।
एघार बर्ष अघिदेखि बागलुङमा चारपाङग्रे सवारी साधनको लाइसेन्स बितरण रोकिएको थियो । आवस्यक पूर्वाधार र मापदण्ड नपुग्दा २०६९ सालदेखि रोकिएको परीक्षा बुधकारदेखि शुरु भएको हो । जुग्जालीले यो अभियान अब नरोकिने भन्दै साबिकको धौलागिरि क्षेत्रका जनताले अब सहज महसुस गर्ने पनि बताए ।
‘अब नियमित रुपमा ट्रायल हुनेछ’ थापाले भने, ‘पोखरा वा बिरगञ्ज जाने समस्या हट्छ ।’ चारपाङग्रे भित्रका बी, सि, इ, एफ र जी समूहको परीक्षा बागलुङमै हुनेछ । यसअघि मोटरसाइटल र स्कुटरको प्रयोगात्मक परीक्षा मात्र यहाँ भैरहेको थियो ।
बागलुङ नगरपालिका वडा नं. १ को माझी बस्तीमा रहेका ड्राइभिङ सेन्टरलाई स्थायी रुपमा परीक्षा संचालन गर्ने गरी सिसि क्यामेरा, सुरक्षा व्यवस्था र कर्मचारीको व्यवस्थापन गरिसकेको कार्यालयका अधिकृत श्यामकुमार थापाले बताए ।
कार्यालयका प्रमुख पारसिंह थापाको अध्यक्षता, श्यामकुमार थापाको संचालन र तुलसीराम कंडेलको स्वागतमा सम्पन्न कार्यक्रममा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का, मन्त्रालयका सचिव शंकरप्रसाद पण्डित, प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, पत्रकार महासंघका सचिव बिजय राना र इन्जिनियर सविना पुनले मन्तव्य राखेका थिए ।