फाइल तस्बिर
बागलुङ, ६ असोज– कालीगण्डकी करिडोरको मालढुंगा–बलेवा सडकखण्ड कलोपत्रेका लागि स्तरोन्नतीको धमाधम भैरहेको छ । करिडोरको दश किलोमिटर सडकखण्ड स्तरोन्नतीको जिम्मेबारी लिएको निर्माण कम्पनी बर्खा नसकिँदै धमाधम काम थालेको हो ।
मालढुंगा–बलेवा खण्डमा भैरहेको कालोपत्रेको कामले प्रभावित क्षेत्रका सर्वसाधारणमा आशा जगाएको छ । बागलुङ र छिमेकी जिल्ला गुल्मीका अधिकांश स्थानीय तहको मुख्य सडकको रुपमा रहेको करिडोरको काम धमाधम हुँदा सर्वसाधारणमा आशा जागेको हो ।
करिडोरको गैंडाकोट–राम्दी–मालढुंगा सडक आयोजना पाल्पाले मालढुंगादेखि रुद्रवेणीसम्म तीन खण्डमा कालोपत्रेको काम गरिरहेको छ । गुल्मीको रुद्रवेणीदेखि हर्मिचौर सम्मकोे १४ किलोमिटर खण्डमा कालोपत्रेको काम अन्तिम चरणमा छ ।
चालु आर्थिक बर्षमा यो खण्डको कालोपत्रे सकिने आयोजना कार्यालयले जनाएको छ । बागलुङको मालढुंगादेखि बलेवा बिमानस्थलसम्मको १० किलोमीटर सडक कालोपत्रेका लागि संरचना बनाउने काम धमाधम भैरहेको छ । निर्माण व्यवसायी खड्का कृष्ण जेभीले सम्झौता गरेर बिडारी निर्माण सेवालाई कामको जिम्मेबारी दिएको थियो ।
बिडारी निर्माण सेवाका सञ्चालक ध्रुव बिडारीका अनुसार, आउँदो चैत बैशाखसम्म प्रभावित क्षेत्रका सर्वसाधारण कालोपत्रे सडक देख्न पाउनेछन् । दुई बर्षको समयावधी पाएको कम्पनीले समयमै काम सक्नेगरी संरचना निर्माणको काम गरिरहेको छ ।
‘अहिले सात वटा मेसिन र दुई सय जना मजदुरले काम गरिरहेका छन्, कुनै अबरोध नआए काम समयमा सक्न समस्या छैन्’ बिडारीले भने । मालढुंगा–बलेवा सडकखण्डको काम समयमा सक्न चौतर्फी दबाव छ ।
यो सडकखण्ड कालोपत्रे हुँदा बलेवा बिमानस्थल सञ्चालनमा आउने र जिल्लाको दक्षिण क्षेत्रले बर्खा याममा दव्ल्याङको पहिरोका कारण पाएको दुःख कम हुने छ ।