बागलुङ, १६ असोज– कुश्माको तमादीखोला बाढीले जिप बगाउँदा बेपत्ता भएका दुइ जना अझै फेला परेका छैनन् । गत शनिबार बेलुकीको बर्षातपछिको बाढीमा तीन यात्री बगेका थिए । तीमध्ये एकको शव भेटिएको दुई जना अझै बेपत्ता हुन् ।
बेपत्ताको खोजी गर्न बागलुङ र कुश्मा नगरपालिकाका उपकरण, जनशक्ती, सेना, सष्शत्र र नेपाल प्रहरी परिचालन गरिएको छ । बागलुङ नगरपालिकाको दमकल र नगर प्रहरी बेपत्ताको खोजीमा परिचालन गरिएको नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बताए ।
दमकलको फोहोराबाट पहिरोको माटो र ढुंगा पन्छाउने काम गरिएको हो । खनीखोस्री मात्र गर्दा भेटाउने संभावना कम भएपछि कुश्मा नगरपालिकाको आग्रहमा बागलुङ नगरपालिकाले जनशक्तीसहित दमकल पठाएको हो । दुइ नगरपालिकाका दुइ दमकलले खोलाको पुरिएको स्थानमा माटो र ढुंगा पन्छाउने काम भैरहेको हो ।
खोजी तथा उद्दार कार्यमा बागलुङ पोखरा सडकअन्र्तगत कुश्माको तमादी खोलामा एक सयबढी सुरक्षाकर्मीहरु निरन्तर परिचालन गरिएको पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेलले जानकारी दिए । गत शनिबार बेलुकी अचानक आएको बर्षातपछि तमादीखोलामा आएको बाढीले ग १ ज ६२१३ नम्बरको जिप बगाएको थियो । शनिबार बेलुकी ७ बजे कुश्मा नगरपालिका वडा नंं. ७ र ८ को सिमानामा पर्ने तमादीखोलाले बगाएको जानकारी पाउनासाथ प्रहरी र सेनाले खोजी थालिसकेको थियो । शनिबार राती नै एक जनाको शव भेटिएपनि तीन दिनसम्म बाँकीको पत्ता नलागेको हो ।
खोलामा पुलसमेत बन्दैछ । हाल संचालनमा रहेको कजवे तर्न नसकेपछि जिप चालक बसन्त थापाले झरेर ढुंगा पन्छाउन खोज्दा एक्कासी बाढी उर्लेर आएको र त्यसले जिप बगाएको पर्वत प्रहरीको भनाइ छ । बाढीले जिपलाई झण्डै ७ सय मीटर तल पु¥याएको थियो । जिप टुक्राटुक्रा भएको अवस्थामा भेटिएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–९ का गोपाल बस्यालको मात्रै शव फेला परेको छ । बागलुङको ताराखोलाका ५१ बर्षिय डम्बर थापा र पोखराका ३४ बर्षिय माधव पौडेल बेपत्ता छन् ।
दुवै नगरपालिकको बिपत शाखाको टिम, नगर प्रहरी र दमकल परिचालन गरिएपनि पत्ता लाग्ने संभावना भने कमजोर भैसकेको टोलीले बताएका छन् । शवलाई बाढीले बगाएर कालीगण्डकी नदीमा पु¥याएको हुन सक्ने खोजी टोलीले बताए ।