बागलुङ, २५ असोज– उच्च अदालत बागलुङका मुख्य न्यायाधिस कृष्ण गिरीले न्याय सम्पादन राम्रो हुँदा समाज पनि सभ्य बन्ने बताएका छन् । उनले समाजमा सामान्जस्यता कायम हुने खालको फैसला र आदेश दिन सक्ने अवस्था हुँदा न्याय निरुपण पनि सहज र नागरिकले अपनत्व लिने खालको हुने बताए ।
आसन्न बिजया दशमी तथा दिपाबली लक्षित गरी उच्च अदालत बार एसोसिएसन बागलुङले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा गिरीले न्याय क्षेत्रका सरोकारवाला सबैले नागरिकलाई न्याय दिने लक्ष राख्नुपर्ने बताए ।
कार्यक्रममा न्यायाधिसहरु मदन पोखरेल, माधवेन्द्र राज रेग्मी, यज्ञबहादुर रानामगर, बरिष्ठ अधिवक्ता पद्मनाथ शर्मा पौडेल तथा उच्च सरकारी वकिल कार्यालयका उपन्यायाधिसवक्ता पूर्णप्रसाद शर्माले न्याय क्षेत्र सुधारका लागि बार, बेञ्च र अभियोजन पक्षहरुले संवेदनशिल बन्नुपर्ने बताएका थिए ।
उच्च अदालत बार एसोसिएसनका अध्यक्ष रमेशबहादुर खड्काको अध्यक्षता, उच्च अदालत बागलुङका शाखा अधिकृत ऋषिराम रिजालको संचालन र उच्च अदालतका रजिष्ट्रार मुकुन्द आचार्यको स्वागतमा सम्पन्न कार्यक्रममा बरिष्ठ अधिवक्ताहरु कृष्णप्रसाद शर्मा निउरे, काजीगाउँले श्रेष्ठ र हरिप्रसाद शर्मा सहितका अधिवक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए । अदालत घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म बन्द रहने चलन छ । यो समयमा अदालतमा बन्दी प्रत्यक्षीकरणका निवेदन भने दर्ता र आवस्यकता अनुसारका आदेश समेत हुनेछन् ।