बागलुङ, २६ असोज– धौलागिरी अस्पतालमा मृगौला र कलेजो सम्बन्धी रोगको दुई दिने शिविर थाहा पाएर आएका केही बिरामीको कलेजो प्रत्यारोपण गर्नुपर्ने अबस्थामा पुगेको भेटिएका छन् ।
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आयोजना गरेको दुई दिने मृगौला तथा कलेलो सम्बन्धी बिरामीका लागि निशुल्क शिविरमा आएका केहीलाई तत्कालै प्रत्यारोपणका लागि केन्द्रमा बोलाइएको टोली नेता डा. लुसान सिंहले बताए ।
‘दुइ दिनसम्म चलेको शिविरमा ७ सय २८ जनाको मृगौला र कलेजो परीक्षण भएको छ’ उनले भने, ‘केहीलाई उपचार गर्नुपर्ने छ भने केही प्रत्यारोपण गर्नुपर्ने छन्, बोलाएका छौं ।’ उनका अनुसार शिविरमा २२ जना मृगौलाका पुराना बिरामी भेटिएकोले उनीहरुको मृगौला प्रत्यारोपण समेत गर्नुपर्ने सुझाव दिइएको थियो । त्यस्तै ४ जनाको कलेजो प्रत्यारोपण गर्नुपर्ने छन् । अस्पतालमा आएका ४ जनाले भने मृत्युपछि अंगदान गर्ने सहमति जनाएका छन् ।
मधुमेय, रक्तचाप र मृगौला तथा कलेजोलाई असर पर्ने अन्य सूचकको पनि परीक्षण गरिएको सहभागि अर्की बिशेषज्ञ डा. दिपा लामिछानेले बताइन् । ‘पछिल्लो समय हाम्रो खानपानले धेरै रोग निम्तेका छन्, यहाँको परीक्षणमा पनि खानामा ध्यान दिनुपर्ने धेरै देखिए’ उनले भनिन्, ‘रक्सी तथा मदिरा नियन्त्रण गर्न सकेमा धेरै समस्याहरु समाधान हुनेछन् ।’ मदिरा सेवन गर्नेमा कलेजोको समस्या देखिएको हो भने मधुमेय हुनेहरुमा मृगौलाको पनि समस्या देखिएको हो । शिविरमा १ लाखबढी मूल्य पर्ने औषधीसमेत बितरण गरिएको थियो ।
रोटरी क्लब अफ बागलुङ, रोट्रयाक्ट क्लब अफ बागलुङ र इन्ट्याक्ट क्लबको आयोजनामा शिविर संचालन भएको रोटरी क्लब अफ बागलुङका अध्यक्ष दिपेन्द्र घिमिरेले बताए । अस्पतालले आफ्नो स्थान दिएको थियो भने अन्य प्राविधिक काममा अस्पतालका उपकरण, सामाग्री र दक्ष जनशक्तीले साथ दिएका थिए ।
समयमा प्रचारप्रसार गर्न नसक्दा शिविरबाट धेरै जना छुटेको अस्पताल व्यवस्थापन समितिकी सदस्य लक्ष्मी जिसी कार्कीले बताइन् । उनले आगामी दिनमा पनि यस्ता प्रकारका शिविर राखेर आम नागरिकलाई स्वास्थ्य उपचार गर्ने अबसर सिर्जना गर्ने बताइन् । शिविरमा बिशेषज्ञ डाक्टर, रेडियोलोजिष्ट लगायतका १४ दक्ष प्राविधिकले सहयोग गरेका थिए ।
मृगौला र कलेजोको उपचार महंगो हुँदा आम नागरिकले समस्या भोग्ने गर्छन् । नेपाल सरकारले उपचार तथा औषधीमा गरी ५ लाख रुपैयाँ छुट दिने गरेको छ । केन्द्रमा पछिल्लो समय प्रत्यारोपणको संख्या बढीरहेको छ ।