बागलुङ, १ कात्तिक– सत्ता साझेदार नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी रहेको कम्प्युनिष्ट पार्टीहरुको समाजवादी मोर्चा बागलुङमा पनि गठन भएको छ ।
मोर्चाले अनौपचारिक रुपमा यसअघि केही कार्यक्रम सम्पन्न गरिसकेको थियो । सोमबार बसेको बिभिन्न घटकहरुको बैठकले समाजवादी मोर्चा नेपाल बागलुङ गठन भएको पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।
मोर्चामा नेकपा माओवादी केन्द्रको तर्फबाट चन्द्रबहादुर थापा शिखर र टिकाकुमारी बिश्वकर्मा, नेकपा एकीकृत समाजवादीको तर्फबाट लालबहादुर थापा र भरत पुरी, नेपाल कम्प्युनिष्ट पार्टीको तर्फबाट आकाश सी र क्रान्ति सी तथा जनता समाजवादी पार्टीको तर्फबाट मिमा गुरुङ रहेको जनता समाजवादी पार्टीका राजनीतिक समिति सदस्य निर्मल जिसीले बताए । सदस्यबाट पालैपालो तीन तिन महिनामा संयोजक तोक्ने व्यवस्था हुने बताइएको छ । पहिलो चरणका लागि नेपाल कम्युनिष्ट पार्टीका आकाश सी संयोजक भएका छन् ।
मोर्चाले आम नागरिकको जनजिविकाको सबालमा काम गर्ने पत्रकार सम्मेलनमा बताइयो । समाजबाद उन्मुख राज्य निर्माणमा मोर्चाले आन्दोलन छेड्ने अभियानका सदस्यले बताए । सत्ता र सडकमा एउटै दलका नेता तथा कार्यकर्ता रहने गरी बनेको मोर्चाप्रति भएका टिप्पणीलाई उनीहरुले असल नेतृत्वले सत्ताको नेतृत्व गर्ने र कुशल नेतृत्वले समाजवादी मोर्चाको आन्दोलन सम्हाल्ने बताएका छन् ।
पछिल्लो समय बढीरहेको महंगी, भ्रष्टाचार, घुसखोरी तथा अनियमितताबिरुद्ध मोर्चाले नियमित आन्दोलन गर्ने बताइएको छ । पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष राजिब घिमिरे, नेकपा एकीकृत समाजवादीका अध्यक्ष लालबहादुर थापा, नेपाल कम्प्युनिष्ट पार्टीका इनचार्ज आकाश सी र जनता समाजवादी पार्टी राजनीतिक समिति सदस्य निर्मल जिसी सहितका नेताले मन्तव्य राखेका थिए ।