पर्वत, ३ कात्तिक– जिल्लामा गाईभैँसी सुत्केरी पोषण भत्ता वितरण गर्न थालिएको छ । जलजला गाउँपालिकाले गाईभैँसी पोषण भत्ता वितरण गर्न थालेको हो ।
गाउँपालिकालाई पशुपालनका माध्यमबाट दूध र मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले तीन वर्षदेखि सञ्चालन गरिएको सुत्केरी गाईभैँसीलाई पोषण भत्ता कार्यक्रम प्रभावकारी बन्दै गएकाले यस वर्ष पनि निरन्तरता दिइएको पालिका कार्यालयले जनाएको छ ।
कृत्रिम गर्भाधानका माध्यमबाट गाईभैँसीको नस्ल सुधार गरी उत्पादन बढाउन पोषण भत्ता कार्यक्रम प्रभावकारी देखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणीन्द्र आचार्यले बताए । कृत्रिम गर्भाधान सेवाप्रति आकर्षण बढाएर पाडापाडी र बाच्छाबाच्छी पाल्नेलाई प्रोत्साहन गर्न पोषण भत्ता कार्यक्रम सञ्चालन गरिएको उनको भनाई थियो ।
विशेष गरेर जन्मिँदा बित्तिकै भैँसीका पाडापाडी नपाल्ने चलन हटाएर संरक्षण गर्न कार्यक्रम सञ्चालन गरिएको जानकारी दिदै पशु सेवा प्राविधिक दीपक श्रेष्ठले कार्यक्रम प्रभावकारी देखिएकोे बताए ।
गत आर्थिक वर्ष २०७९÷८० मा ७२ जना कृषकलाई पाडापाडी र बाच्छाबाच्छी हुर्काएबापत पोषण भत्ता स्वरूप दुई हजार पाँच सयका दरले कूल एक लाख ८० हजार वितरण गरेको शाखाले जनाएको छ । जनप्रतिनिधि र पशु सेवा प्राविधिकले बाच्छाबाच्छी र पाडापाडीको अनुगमन गरेर अनुदान उपलब्ध गराउने कार्यविधि बनाइएको छ ।