बागलुङ, ४ असोज– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धौलागिरि अस्पताललाई ५ वटा डायलाइसिस मेसिन उपलब्ध गराएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले शनिबार ती मेसिन अस्पताललाई हस्तान्तरण गरे । डायलाइसिस मेसिन बागलुङसम्म ल्याउनको लागि बागलुङ नगरपालिकाले सहजीकरण गरेको थियो ।
डायलाइसिस मेसिन उपलब्ध गराइएपछि उपचारको लागि प्रतिक्षामा बसिरहेका मृगौला पीडित बिरामीलाइ उपचार गर्न सहज हुने भएको छ । यस अगाडिका ६ वटा र अहिलेका ५ गरी अव ११ वटा मेसिनबाट नियमित डायलाइसिस सेवा संचालन हुने अस्पतालले जनाएको छ ।
डाइलासिस गर्ने मेसिन संचालन गर्न चाहिने स्वास्थ्य जनशक्ति छिट्टै थप गर्ने मन्त्री बस्नेतले आश्वासन दिए । अस्पतालमा हाल नियमितरूपमा ३९ जना मृगौलाका बिरामीहरूले डाइलासिस गरिरहेका छन् भने अस्पतालमा डाइलासिस गर्ने मेसिन कम भएको कारण ३२ जना बिरामीले पालो पर्खिरहेको अस्पतालको भनाई छ ।
धौलागिरि अस्पतालमा २०७६ सालदेखि निरन्तर डायलाइसिस सेवा प्रवाह हुँदै आएकोमा पछिल्लो समय अस्पतालमा सेवा लिने बिरामीको संख्या पहिलेको तुलनामा झण्डै दोब्बर भएकोले नियमित सेवा दिन समस्या थियो । मृगौला रोगका धेरै बिरामीहरु पहिले पोखरा, चितवन, काठमाडौँ पुगेर उपचारका लागि लाखौँ खर्च गर्नुपर्ने बाध्यता थियो, तर अब भने त्यो बाध्यता हटेको छ । विरामीले स्थानीय अस्पतालमै सेवा लिन पाएपछि समय र पैसाको समेत बचत हुनेछ ।