बागलुङ, २१ कात्तिक– जाजरकोट र रुकुम पश्चिमका भुकम्पबाट घाइतेको उपचारका लागि बागलुङमा रक्तदान गरिएको छ । जाजरकोट केन्द्रबिन्दु भएर १७ गते राती गएको भुकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ठूलो मात्रमा जनधनको क्षति भएको र घाइतेहरुको उपचारमा सहयोग पु¥याउनका लािग रक्तदान गरिएको हो ।
बागलुङ उच्च अदालत बार एसोसियसन बागलुङसंग आवद्ध १२ जना कानुन व्यवसायीले रक्तदान गरेका हुन् । पहिलो चरणमा १२ जनाले गरेको र दोस्रो चरणमा थप ७ जनाले रक्तदान गरेपछि पठाउने तयारी गरिएको बागलुङ उच्च अदालत बार एसोसियसन बागलुङका अध्यक्ष रमेशबहादुर खड्काले जानकारी दिए ।
पीडितहरुका लागि रकम र राहतका सामाग्री सबैतिरबाट आएपनि घाइतेको उपचारका लागि रगतको अभाव नहोस भनेर रक्तदान गरिएको उनको भनाई थियो । रमेशबहादुर खड्का, हरिकृष्ण गौतम, उमाशंकर सापकोटा, राजु गौतम, राम शर्मा, भुमिश्वर गौतम, तेजेन्द्रबहादुर थापा, राधाकृष्ण ज्ञावली, गोविन्दप्रसाद वझा, गोविन्दराज गौतम, नरेन्द्रप्रतापसिँह बुढाथोकी, बिष्णुप्रसाद सापकोटा र हरिप्रसाद गौतमले रक्तदान गरेका थिए ।
नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्रको प्राविधीक सहयोगमा भएको कार्यक्रममा सोसाइटी बागलुङ शाखामा कार्यरत अच्युच अधिकारीले पनि रक्तदान गरेको अध्यक्ष खड्काले जानकारी दिनुभयो ।