बागलुङ, २२ कात्तिक– जिल्लामा गत वर्षदेखि निर्माण थालिएको बिपी स्मृति भवन निर्माणका लागि सहयोग जुट्ने क्रम जारी रहेको छ ।
बिपी स्मृति भवन निर्माणका लागि सहयोग जुट्ने क्रम जारी रहेको र हालसम्म झण्डै तीन करोड सहयोग रकम संकलन भएको समितिले जानकारी दिएको हो । बिपी स्मृति भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष जगन्नाथ आचार्यले हाल भवन निर्माणको २५ प्रतिशत भौतिक प्रगति भएको जानकारी दिए ।
सहयोग सङ्कलन गरिएको तीन करोडमध्ये ७५ लाख सरकारी निकायबाट र अन्य रकम व्यक्तिगत सहयोगबाट जुटेको उहाँको भनाई थियो । गत वर्षदेखि थालिएको भवन निर्माण अभियानमा सहयोग जुट्ने क्रमले तीव्रता पाएको छ ।
अहिले बागलुङ नगरपालिका–३ नारायणचोकमा स्मृति भवन निर्माण भइरहेको छ । हालसम्म भवन निर्माणमा झण्डै एक करोड खर्च भइसकेको अध्यक्ष आचार्यले बताए । उक्त भवन निर्माणका लागि पूर्वाधार विकास कार्यालयबाट ५० लाख, बागलुङ नगरपालिकाबाट २० लाख र जैमिनी नगरपालिकाबाट पाँच लाख बजेट विनियोजन भई फछ्र्योट भइसकेको छ ।
यस्तै जिल्लाका विभिन्न व्यक्ति, शुभेच्छुक तथा जनप्रतिनिधिबाट एक करोड ५९ लाख र जापानबाट ५० लाख सङ्कलन भएको समितिले जनाएको छ । नेपाली कांग्रेस बागलुङका सभापति जित शेरचनले सहयोग सङ्कलन अभियानलाई स्वदेशमा मात्रै नभएर विदेशमा समेत चलाइएको बताए ।
शेरचनले हालैमात्र जापानमा पुगेर भवन निर्माणका लागि ६० लाख सहयोग संकलन गरेर फर्किएको जानकारी दिए । १० करोड सहयोग जुटाउने नेपाली कांग्रेसको अभियान रहेको उनको भनाई थियो । बागलुङ नगरपालिका–३ नारायण चोकमा १४ आना जग्गा खरिद गरेर भवन निर्माण थालिएको हो । –रासस