बागलुङ, २४ कात्तिक– रामरेखा आधारभुत विद्यालयले विद्यालयको भवन निर्माणमा सहयोग गर्ने दातालाई सम्मान गरेको छ । विद्यालयको भवन निर्माणमा सहयोग गर्दै आईरहेको स्टिचिङ नेपाल (नेदरल्याण्ड)का अध्यक्ष लगायतलाई सम्मान गरको हो ।
नेपाल भ्रमणमा रहेका स्टिचिङ नेपाल (नेदरल्याण्ड)का अध्यक्ष प्रोफेसर डाक्टर क्रिजन बि वेष्टको समुह विद्यालयको अवस्था बुझ्न बागलुङ आएको थियो । विद्यालयमा दाता आएको मौका पारेर विद्यालयले स्वागत तथा सम्मान गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र बहादुर केसीले बताए ।
वेष्ट र उनको समुहलाई बागलुङ नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठ, उपप्रमुख राजु खड्का र विद्यालयका संस्थापक केवी राना मगरले सम्मान पत्र प्रदान गरे । बागलुङ कालिका मन्दिरको नमुना मायाको चिनो प्रदान गर्दै नगर प्रमुख श्रेष्ठले नेपालको शिक्षा क्षेत्रको श्रीबृद्धिमा सहयोग गरेको भन्दै धन्यवाद ज्ञापन गरे ।
उनले शिक्षा क्षेत्रमा स्थानीय सरकार सँगसँगै रहेर सहयोग गर्न आग्रह गरे । सरकारले ध्यान पु¥याउन नसकेका स–साना बिषयमा दाताहरुले सहयोग गर्दा सबै क्षेत्रको बिकासमा सहयोग पुग्ने उनले बताए ।
स्टिचिङ नेपाल (नेदरल्याण्ड) विद्यालय स्थापना कालदेखिनै भवन निर्माणमा सहयोग गर्दै आएको छ । हालसम्म झण्डै ५० लाख रुपैयाँ सहयोग गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्काले बताए ।
स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष वेष्टले आँफुहरु गरिव तथा विपन्न परिवारका विद्यार्थीले पढ्ने विद्यालयमा सहयोग गर्न सधैं तयार रहेको बताए । संस्थापक अध्यक्ष केवी राना मगरले अहिले पनि उक्त विद्यालयमा पढ्ने विद्यार्थीहरुका लागि होस्टल, स्कुल बसलगायत आवश्यकता रहेको बताए ।