बागलुङ, २६ कात्तिक– बिद्यामन्दिर पुस्तकालयले १ सय १५ औं देवकोटा जयन्ती तथा कविता गोष्ठी सम्पन्न गरेको छ । साहित्यकार लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती तथा लक्ष्मीपूजाको दिन पारेर गोष्ठी गरिएको हो ।
कार्यक्रममा सहभागिहरुले लक्ष्मीप्रसाद देवकोटाको साहित्य, राजनीति र सामाजिक क्षेत्रको चर्चा गरेका थिए । देवकोटालाई नेपाली साहित्यका महाकवि पनि भनिन्छ । नेपालको शिक्षा मन्त्री समेत भएका देवकोटाले देशभर नेपाली भाषा अध्यापन गराउने व्यवस्था गरेका थिए । साथै उनले नेपाली भाषा साहित्यको बिकासमा सयौं कविता, दर्जनौं काब्यहरु लेखेका छन् । मुना मदन देवकोटाको सबैभन्दा चर्चित काब्य हो ।
देवकोटाले अन्तराष्ट्रिय मञ्चमा पुगेर पनि नेपाली भाषा र साहित्यको प्रवद्र्धन र प्रचार गरेको इतिहास रहेको पुस्तकालयका पूर्व अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताए । देवकोटाको साहित्यलाई बिदेशी कविहरुले पनि उचाइको भनेर सम्मान गरेको समेत उनले जानकारी दिए ।
पुस्तकालयका अध्यक्ष राम थापा अविरलको अध्यक्षता, सचिव राजनप्रसाद शर्माको संचालन र उपाध्यक्ष रामचन्द्र शर्माको स्वागतमा सम्पन्न भएको थियो । उक्त अबसरमा ८ जना श्रष्टाले लक्ष्मीप्रसाद देवकोटाको साहित्य योगदान बारे कविता बाचन गरेका थिए ।