बागलुङ, २४ माघ– गलकोट नगरपालिका वडा नं. ९ को बडगाउँमा २४ बर्षिय युवा मृत फेला परेका छन् । मध्यपहाडी लोकमार्ग छेउको नालीमा उनी मृत फेला परेको स्थानीयले बताए ।
बुधबार बिहानै सडक छेउमा ती युवा मृत भेटेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । इलाका प्रहरी कार्यालय हरिचौरका प्रहरी निरीक्षक थमनसिंह रानाका अनुसार मृतकको अनुहारमा घाउचोट लागेको भेटिएको हो ।
घटना शंकास्पद देखिएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षकसमेत घटनास्थल पुग्दैछन् । ती युवाको शव उठाइएको छैन । मृतक गलकोट नगरपालिका–९ का नविन गौतम भएको प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए ।
घटनास्थलदेखि केहीपर उनले लगाएको चप्पल भेटिएको थियो । केही समयदेखि उनले सडकमा सोलिङको काम गर्दै आएका थिए । घटनाको थप अनुसन्धानपछि मात्र वास्तविकता खुल्ने केसीले जानकारी दिए ।