बागलुङ, ९ असोज – गण्डकी प्रदेशको पुरानो सामुदायिक पुस्तकालय बिद्यामन्दिर पुस्तकालय बागलुङको ३६ औं अधिवेशनबाट पत्रकार राम थापा अविरल अध्यक्षमा निर्वाचित भएका छन् । शनिबार बागलुङ सदरमुकाममा सम्पन्न पुस्तकालयको ७४औं साधारणसभा तथा ३६औं अधिवेशनबाट थापा पुस्तकालयको अध्यक्षमा चयन भएका हुन् ।
सामुदायिक पुस्तकालय, बिधुतिय पुस्तकालय र बालबिकास केन्द्र समेत संचालन गर्दै आएको बिद्यामन्दिर पुस्तकालयलाई गण्डकी प्रदेश कै नमुना पुस्तकालय बनाउने योजना साथ अगाडि बढ्दै जाने अधिवेशनमा बोल्ने बक्ताहरूले बताए ।
कार्यक्रममा नेपाल सामुदायिक पुस्तकालय संघका केन्द्रीय अध्यक्ष सन्तोष रावल, बिद्यामन्दिर पुस्तकालयका पुर्व अध्यक्ष एंवम कार्यवाहक प्रधान संरक्षक परशुराम श्रेष्ठ, पूर्व अध्यक्ष लालचन्द्र राजभण्डारी, सल्लाहकार देवबहादुर श्रेष्ठ, बागलुङ उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष शशि कपुर श्रेष्ठ लगायतका बक्ताहरूले सामुदायिक पुस्तकालयलाई समय अनुकूल पाठक मैत्री बनाउन सकेको खण्डमा मात्रै पुस्तकालयमा पाठक भित्र्याउन सकिने अन्यथा पुस्तकालयमा पाठक घट्दै जाने धारणा राखे ।

कार्यक्रममा पुस्तकालयका पूर्वअध्यक्ष लालचन्द्र राजभण्डारीलाई प्रमाणपत्र र दोसल्लाबाट सम्मान गरेको थियो भने पुस्तकालयका पूर्व अध्यक्ष महेशचन्द्र प्रधानले आफ्नो स्वर्गीय मातापिताको नाममा स्थापना गरेको हरि मोहन स्मृति सम्मानबाट देव बहादुर श्रेष्ठलाई नगद सहित प्रमाणपत्र र दोसल्लाबाट सम्मान गरिएको थियोे ।
साधारणसभामा पुस्तकालयका सचिव रामचन्द्र शर्माले प्रगति प्रतिवेदन र कोषाध्यक्ष कोपिला कँडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
बिधुतीय पुस्तकालय संचालन भएपछि सामुदायिक बिद्यालय र निजी बिद्यालयमा अध्ययन गर्ने गरिब दलित तथा बिपन्न बर्गका बिद्यार्थिले निशुल्क रूपमा अध्ययन गर्न पाएको कारणले पनि अहिले पुस्तकालयमा आउउने गरेको सचिवले प्रतिवेदन मार्फत जानकारी गराएका थिए ।
२००३ सालमा शिक्षा प्रेमी ओम प्रसाद गौचन र मेघ कुमार बैधले स्थापना गरेको सामुदायिक पुस्तकालय अहिलेसम्म नियमित रूपमा सबै खालका पाठकलाई बिहान १० बजे देखि बेलुकी ५ बजेसम्म सेवा प्रदान गर्दै आएको छ ।पुस्तकालयको सहायक अंगको रूपमा रहेको रत्न श्रेष्ठ नेपाली बाङ्गमय कक्ष पनि नियमित रूपमा बिहान १० देखि पाठकहरूको लागि खुला रहदै आएको छ ।
पुस्तकालयमा सामाजिक राजनीति धार्मिक सांस्कृतिक लगायतका १७ हजार ८ सय ५० भन्दाबढी र अन्य हस्तलिखित पुस्तक पत्रपत्रिका समेत रहेका छन् । यीनै पुस्तक र पत्रपत्रिकाले पुस्तकालयमा टाढा टाढादेखि पाठकहरू आउने गरेका र्छन् ।