काठमाडौं, २४ मंसिर – कतार विश्वकप २०२२ मा अफ्रिकन टोली मोरक्कोसँग पराजित हुँदै पोर्चुगल कतार विश्वकपको क्वार्टरफाइनबाटै बाहिरिएको छ।
दोहास्थित अल थुमामा स्टेडियममा शनिबार राति भएको खेलमा मोरक्कोसँग १–० ले पराजित हुँदै पोर्चुगल अन्तिम ८ बाटै बाहिरिएको हो।
१६ वर्षपछि सेमिफाइनल पुग्ने योजनामा रहेको पोर्चुगलको बाटोमा अफ्रिकी टोली बाधक बन्यो।
खेलको ४२ औँ मिनेटमा यासुफ इन-नेस्रीको गोलमा मोरक्कोले अग्रता बनाएको थियो। त्यसपछि खेलमा थप गोल हुन नसक्दा पोर्चुगलको विश्वकप यात्रा क्वार्टरफाइनलसम्म सिमित बनेको हो।
सन् २००६ मा सेमिफाइन पुगे यता पोर्चुगल पहिलो पटक क्वार्टरफाइनल पुगेको थियो। सन् १९६६ मा तेस्रो भएको पोर्चुगल १९८६ मा समुह चरणबाटै बाहिरिएको थियो।
त्यसपछिका तीन संस्करण छनोट नै हुन नसकेको पोर्चुगल २००२ र २०१८ मा समुह चरणमै सिमित भएको थियो। २०१० र २०१८ मा पोर्चुगल नकआउट चरणबाटै बाहिरिएको थियो।
पोर्चुगलबाट पाँचौँ पटक विश्वकप खेलिरहेका कप्तान क्रिस्टियानो रोनाल्डोका लागि सम्भवतस् यो अन्तिम विश्वकप हुनेछ। सन् २००६, २०१०, २०१४, २०१८ र २०२२ गरि पाँच विश्वकप खेल्ने रोनाल्डो एक्ला खेलाडी हुन्।
नकआउट चरणमा स्वीटजरल्याण्ड्सविरुद्ध दोस्रो रोजाइमा मैदान उत्रिएका रोनाल्डोले मोरक्कोविरुद्ध पनि सुरुवाती रोजाइमा स्थान बनाउन सकेनन्।
रोनाल्डोले विश्वकपमा ८ गोल गरिसकेका छन्। पाँच विश्वकपमा गोल गर्ने रोनाल्डो एक्ला खेलाडीसमेत हुन्।