काठमाडौं, १० पुस– ७ दलको समर्थन जुटाएर प्रधानमन्त्री दाबी गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शितल निवास पुगेका छन् । आइतबार अपरान्ह प्रचण्ड राष्ट्रपति निवास शितल निवास पुगेका हुन् । साथमा नेकपा एमालेसहित दलका नेताहरू पनि शितल निवास पुगेका छन् ।
आज बालकोटमा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टीले प्रचण्डलाई प्रधानमन्त्रीमा अघि सार्ने निर्णय गरेका थिए । यी सबै दलबाट गरी प्रतिनिधि सभामा १ सय ६६ जना सांसद छन् । सरकार गठनका लागि १ सय ३८ जना सांसदको समर्थन भए बहुमत पुग्छ । प्रधानमन्त्रीमा दाबी गर्न राष्ट्रपतिले संविधानको धारा ७६ को २ अनुसार दलहरूलाई दिएको एक साताको समय आज अपरान्ह ५ बजे सकिँदैछ ।