८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

कांग्रेसमा सभापतिदेखि सहमहामन्त्रीसम्म ८ जनाको नतिजा आउँदा कुन प्यानल अगाडि ?


जनमञ्च संवाददाता
  • २ पौस २०७८ , शुक्रबार

  • कांग्रेसमा सभापतिदेखि सहमहामन्त्रीसम्म ८ जनाको नतिजा आउँदा कुन प्यानल अगाडि ?

    काठमाडौं, २ पुस -नेपाली कांग्रेसको आगामी ४ वर्षका लागि नयाँ नेतृत्व चुन्न भएको चुनावअन्तर्गत अहिलेसम्म ८ पदाधिकारीको नतिजा आइसकेको छ। बिहीबारसम्म सभापति, उपसभापति २, महामन्त्री २ र सहमहामन्त्री ३ जना विजयी घोषणा भइसकेका हुन्। अब ८ सहमहामन्त्रीमध्ये ५ जनाको मतगणना आज (शुक्रबार) हुँदैछ।

    अहिलेसम्मको नतिजाअनुसार दोस्रो कार्यकालका लागि पनि कांग्रेस सभापतिमा विजयी प्रधानमन्त्री शेरबहादुर देउवा पक्षका उनीसमेत चार जनाले जितेका छन्। ती हुन्– सभापति देउवा आफैं, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीमा भने उनी पक्षका डा. प्रकाशशरण महत र प्रदीप पौडेल  दुवै हारे। अहिलेसम्मको नतिजामा सहमहामन्त्रीमा देउवा पक्षका महिलातर्फ महालक्ष्मी ‘डिना’ उपाध्याय र आदिवासी जनजातितर्फ भीष्मराज आङदेम्बे विजयी भइसकेका छन्।

    यस्तै सभापतिमा पराजित शेखर कोइराला समूहबाट एक जना उपसभापतिमा धनराज गुरुङ विजयी भएका छन् भने दुई महामन्त्रीमध्ये एकमा गगन थापाले जितेका छन्। अहिलेसम्मको नतिजाअनुसार सहमहामन्त्रीमा पनि शेखर समूहका एक जना दलितर्फ जीवन परियार विजयी भएका छन्।

    यस्तै सभापति पदको प्रतिस्पर्धामा पहिलो चरणको चुनावबाटै फालिएका तथा दोस्रो चरणमा देउवालाई समर्थन गरेका प्रकाशमान सिंह पक्षतर्फ महामन्त्रीमा विश्वप्रकाश शर्मा विजयी भएका छन्।

    यस्तै सभापति पदको प्रतिस्पर्धामा पहिलो चरणको चुनावबाटै फालिएका र दोस्रो चरणमा देउवालाई समर्थन गरेका विमलेन्द्र  निधि पक्षमा भने अहिलेसम्म काेही विजयी भएका छैनन्। ​अब पाँच सहमहामन्त्री र १२१ केन्द्रीय सदस्यको नतिजा आउन बाँकी छ। सहमहामन्त्रीकोे टुंगोपछि कांग्रेसमा केन्द्रीय सदस्यको मत गणना सुरु हुनेछ।

    सभापतिदेखि केन्द्रीय सदस्यसम्म कांग्रेस केन्द्रीय कार्यसमितिका १३४ पदका लागि गत सोमबार काठमाडौंस्थित राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा मतदान गरिएको थियो। सुरुको निर्वाचनमा सभापतिका पाँच उम्मेदवारमध्ये शेरबहादुर देउवाले सबैभन्दा बढी मत ल्याए पनि कांग्रेसको विधानबमोजिम कसैको मत ५१ प्रतिशत नपुगेपछि मंगलबार पुनः मतदान गरिएको थियो। त्यसमा शेखर कोइरालालाई हराउँदै दोस्रो कार्यकालका लागि पनि देउवा कांग्रेस सभापति हुन सफल भएका हुन्।

    अन्य पदका मतगणना भने सोमबार भएकै चुनावको हो। सोमबारको मतदानमा ४ हजार ७४३ मतदातामध्ये ४ हजार ६७९ मतदाताले मतदान गरेका थिए।

    सभापतिको मतगणना मात्र राष्ट्रिय सभागृहमा गरिएको थियो, बाँकी सबै पदको मतगणनाको व्यवस्था कांग्रेस केन्द्रीय कार्यालय (सानेपा) मा गरिएको हो।

    कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री निर्वाचनबाट चुन्ने व्यवस्था छ। कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था कांग्रेस विधानमा छ।

    यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासीरजनजाति १५, खसरआर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गता भएकाबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने हालको विधानको व्यवस्था छ।

    यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनीत गर्ने विधानमा उल्लेख छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend