म्याग्दी, २१ पुस– गण्डकी प्रदेश सरकारले म्याग्दीका २० पर्यटकीयस्थलमा पूर्वाधार निर्माणका लागि चालू आर्थिक वर्ष २०७९/८० मा योजना छनोट गरेको छ ।
प्रदेश सरकारअन्तर्गतको पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पर्यटन तथा उद्योग कार्यालयमार्फत कार्यान्वयन हुने ती योजनाका लागि १ करोड ७६ लाख बजेट विनियोजन गरेको कार्यालय प्रमुख पोषानाथ शर्माले जानकारी दिए ।
पाँच÷पाँच लाख बजेट विनियोजन गरिएको बेनीको ब्रह्मकुमारी विश्वविद्यालय तथा राजयोग प्रशिक्षण केन्द्र, गलेश्वर मन्दिर–काउलेगौडा पदमार्ग, कन्थराजको थान र फूलपाती–ज्यामरुककोट मन्दिर, कुकुरखोरिया–दुरलेक पदमार्ग र ७ लाख विनियोजन भएको रघुगंगाको गायत्री मन्दिरमा उद्यान निर्माणको काम सुरु भएको छ ।
अन्नपूर्ण गाउँपालिकाको नारच्याङ झरनामा रेलिङ, तातोपानी कुण्डमा पर्यटकीय पूर्वाधार, सुकेधारा–सुवा पदमार्ग र अन्धगल्छी–रुप्से छहरा–भूमे मन्दिर पदमार्ग निर्माणका लागि १०/१० लाख बजेट विनियोजन गरिएको छ ।
रघुगंगाको भूमेथान चौतारी निर्माणमा दुई लाख, बेनीको मसिना ढुंगा थाकनपोखरी भेटेरिनरी कार्यालय पदमार्गका लागि १५ लाख, गैराबारी–ढुंगेटा खेतदेउने पदमार्गका लागि ५ लाख र गुफा राममन्दिरको उद्यानलाई १५ लाख विनियोजन गरिएको छ ।
यसैगरी मालिकाको प्रभुचेला आश्रम भौतिक पूर्वाधार निर्माणका लागि १५ लाख, इग्रे–लामखोरिया पदमार्गका लागि १० लाख, पन्थोकदेखि मालिका धुरी जाने पदमार्गका लागि पाँच लाख, धवलागिरिको लुलाङ–सागबारी पदमार्गका लागि १० लाख र बेँसी पन्थोक टाङवाङ रिख पदमार्गका लागि १० लाख बजेट आएको छ ।
यस्तै, मंगलाको साउनेपानीहँुदै डाँडा र सिरकुम–तीनचुले पदमार्गका लागि १०÷१० लाख बजेट प्राप्त भएको पर्यटन तथा उद्योग कार्यालयले जनाएको छ ।