बागलुङ, २३ पुस– गण्डकी प्रदेशका कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर बुढाले सहकारीलाई नियमन मात्र नगरी प्रवद्र्धनको लागि सरकारले काम थालेको बताएका छन् । बुढाले सहकारीको मोडल राज्यका हरेक निकायले पनि आत्मसाथ गर्नुपर्ने आवश्यकता औल्याए ।
शनिबार बागलुङ स्थित कालीका सहकारी संस्थाको ५ औं साधारणसभा उद्घाटन गर्दै सहकारीले छरिएको पूँजि एकीकरण गरेर देशको बिकासको साझेदार बनेको बताए । उनले गण्डकी प्रदेश सरकार र स्थानीय सरकारले पनि सहकारीलाई साथ लिएर काम गरे सफल हुने धारणा राखे ।
कार्यक्रममा पूर्व मन्त्री रामजीप्रसाद शर्मा, गण्डकी प्रदेशका पूर्व सदस्य इन्दलाल सापकोटा, श्रीप्रसाद शर्मा, धौलागिरि बहुमुखी क्याम्पसका प्रमुख रामप्रसाद उपाध्याय लगायतले बोलेका थिए ।
सहकारीका अध्यक्ष हिमालप्रसाद शर्माको अध्यक्षता, सचिव भूपाल चालिसेको संचालन र उपाध्यक्ष गीता शर्माको संचालनमा सम्पन्न कार्यक्रममा जेष्ठ सदस्य कृष्णराज शर्मा लगायतले शुभकामना व्यक्त गरेका थिए ।
कालीका सहकारी बागलुङकै पुरानो सहकारी हो । २०३२ सालमा स्थापना भएपनि बिभिन्न कारणले सुस्ताएको सकारीलाई जनता संचार सहकारी र हाम्रो धौलागिरी सहकारीमा गाभेपछि सहज रुपमा संचालनमा आएको हो ।