पर्वत, २५ पुस– पर्वतमा करोडौँ रकमको लगानीमा निर्माण भएका चिस्यानगृह प्रयोगविहीन बनेका छन् । प्रयोग भएका चिस्यानगृह पनि आंशिक रुपमा मात्रै सञ्चालनमा छन् ।
चिस्यानगृहमा किसानले उत्पादन गरेका कृषिउपज भण्डारण नगरी सिधँै व्यापारीलाई ठेक्कामा बिक्री गर्दा प्रयोगविहीन बनेका हुन् । कृषि ज्ञान केन्द्र पर्वतका अनुसार, हाल पर्वतभित्र विभिन्न प्रकृति र उद्देश्यका आठ चिस्यानगृह छन् ।
पर्वतमा रहेका चिस्यानगृहको क्षमता करिब ६४ दशमलब ५ मेट्रिकटन छ । तीमध्ये १० मेट्रिकटन क्षमताका भोक्सिङ, शालिजा र बनौँमा रहेका तीन वटा चिस्यानगृहमा सिजनको बेला आलु भण्डारण गर्ने गरिन्छ भने बाँसखर्कमा १० मेट्रिकटन क्षमताको एक र कुर्घामा दुई दशकलव पाँच मेट्रिकटन क्षमताका चिस्यानगृहमा सिजनअनुसार सुन्तला र आलु स्टोर गरिँदै आईएको छ ।
‘हामी जसरी कोल्ड रुम बनाउन बजेटका लागि खट्छौँ, भनसुन गछौँ, सोही अनुसार सञ्चालनमा समेत यथोचित ध्यान नदिँदा अपेक्षित लाभ दिन सकेका छैनौ’, कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख मनिता थापाले भनिन् । राज्यले भौतिक संरचना निर्माण पश्चातका जटिलता र प्राविधिक ज्ञानमा ध्यान दिनुपर्ने थापाको भनाई छ ।
थापाले चिस्यागृह निर्माण गरे पनि किसानले भण्डारण नगरी ठेक्कामै उत्पादन बिक्री गर्ने परिपाटी विकसित हुँदै गएकोे बताइन् । कृषि उपज टिप्ने, संकलन गर्ने तथा भण्डारण गर्ने आवश्यक ज्ञानको अभावमा फसल लामो समयको लागि स्टोर गर्न समस्या भएको देखिएको उनको तर्क छ ।
पाँच वर्षअघि कुश्मा नगरपालिका कटुवाचौपारीको बाह्रबीसेमा निर्माण गरिएको चिस्यानगृहमा भने आलु भण्डारण सफल हुँदै आएको छभने पैँयुँ गाउँपालिकामा २२ लाखको लागतमा निर्माण गरिएको चिस्यानगृह प्रयोगविहिन बनेको छ ।
चिस्यानगृहहरु अपेक्षाअनुसार किसानका लागि उपयोगी हुन सकिरहेका छैनन् । दक्ष प्राविधिक तथा ज्ञानको अभाव, विद्युतिकरणको अभावलगायतका पक्षमा र व्यवस्थापन हुन नसक्दा समस्या सिर्जना भएको किसान उमाकान्त शर्माले बताए ।