बागलुङ, ३० पुस– जिल्लाको जैमिनी नगरपालिकामा जैमिनी महोत्सव २०७९ शुरु भएको छ । सहारा क्लवले माघेसक्रान्ति मेलाको अवसरमा महोत्सवको आयोजना गरेको हो ।
जैमिनी नगरपालिका वडा नम्वर १ कुश्मिसेरामा आयोजित मेलाको उद्घाटन गर्दै जैमिनी नगरपालिका प्रमुख नरबहादुर पुनले मेलाले जैमिनीमा रहेका मौलिक संस्कृतिको संरक्षणमा टेवा पु¥याउने बताए ।
पछिल्लो समय मौलिक संस्कृतिहरु लोप हुने अवस्थामा पुगेको चर्चा गदै पुनले मेला तथा महोत्सवमा भएपनि प्रदर्शन गरिनुले संरक्षणको लागि महत्वपूर्ण भूमिका खेल्ने बताए ।
जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले सहारा क्लबले आयोजना गरेको माघेसक्रान्ती मेला क्लबको मात्र नभएर सिंगो जैमिनीकै मेला भएकोले सफल बनाउन सबैले सहयोग गर्नुपर्ने बताए ।
मेलाको पहिलो दिन शुक्रबार जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, व्यवसायीबीच मैत्रीपूर्ण भलिबल खेल भएको छ । मेलामा विभिन्न खेलकुद प्रतियोगिता, विभिन्न सामाग्रीको प्रदर्शनी र सास्कृतिक कार्यक्रम राखिएको छ । मेला माघ ५ गतेसम्म संचालन हुने आयोजक सहारा क्लब कुश्मिसेराले जनाएको छ ।