बागलुङ, ५ माघ– जिल्लाको जैमिनी नगरपालिकाले पालिकामा रहेका ऐतिहासिक स्थल तथा भुटेटाकुरे राज्यलाई संरक्षण गर्न थालेको हो । नगरपालिकाले लगानी गरेर चौबिसे राजाको पालाको भुरेटाकुरे राज्यमध्येको थन्थापकोट, गढी, थन्थापमाईको मन्दिर र महत्तवका सामग्री संरक्षणको पहल सुरु गरेको हो ।
नगरपालिकाको वडा नं. ४, ७ र १० को संगमस्थलमा रहेको भग्नावशेष भइसकेका गढीका तोप र ऐतिहासिक हातहतियार संरक्षण गरेर राख्न थालिएको पालिकाले जनाएको छ । गलकोटे राजाको संरक्षणमा रहेको थन्थाप राज्यरजौटा हटेपछि हिनामिना भएको र तोपसमेत जंगलमा फालिएको अवस्थामा भेटेपछि गाउँले मिलेर संरक्षण गरेको स्थानीय नरवीर थापाले जानकारी दिए ।
स्थानीय टीकाराम शर्माले यहाँ १८६५ सालको ताम्रपत्र भेटिएको जानकारी दिए । रिपु नाम गरेका राजा र जयन्ती नाम गरेकी रानीले राज गरेको किंवदन्ती रहेकोे शर्माले बताए ।
थन्थाप मन्दिर व्यवस्थापन समितिका सचिव प्रेम थापाले उक्त स्थान पुराना बंकरसमेत रहेको र राज्यले समयमा चासो नदिएपछि प्राचीनकालका ऐतिहासिक सामग्री हराएको गुनासो गरे । इतिहासका प्रमाण मेटिन लागेपछि भने नगरपालिकाले लगानी गरेर संरक्षण गरेको हो ।
संरचना निर्माण र संरक्षणका लागि जैमिनी नगरपालिकाले १ करोड बढी लगानी गरिसकेको उपप्रमुख हरिहर शर्माले जानकारी दिए । ऐतिहासिक स्थल हो भन्ने धेरै आधार भएकाले संरक्षणको काममा चासो दिइएको शर्माको भनाई छ ।