म्याग्दी, ५ माघ– जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा संचालित पाँच जलविद्युत् आयोजनावाट गाउँपालिकाले चालु आर्थिक वर्षमा ८ करोड बढी विद्युत रोयल्टी पाउने भएको छ ।
गाउँपालिकाबाट जम्मा ७० लाख बजेट पाएको नारच्याङले आफ्नो वडामा संचालित विद्युत आयोजनाबाट ८ करोड आम्दानी गरी गाउँपालिकाबाट वडाले पाएको बजेटभन्दा ७ गुणा बढी आम्दानी गराउन सफल भएको हो ।
अन्नपूर्णका प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्माले वित्त आयोगबाट विद्युत रोयल्टी ८ करोड बढी, वन रोयल्टी विनियोजन भएको पत्र गाउँपालिकामा प्राप्त भएको जानकारी दिए । त्यसका साथै पर्यटनबाट ४० हजार बढी रोयल्टी विनियोजन भएको पत्र पनि पालिकालाई प्राप्त भएको छ ।
पत्र प्राप्त भएको भएपनि पालिकाको सञ्चित कोषमा रकम भने दाखिला नभएको प्रमुख प्रशासकीय अधिकृत शर्माको भनाई छ । गाउँपालिकाले पाउने विद्युत रोयल्टीका साथै नारच्याङमा संचालित जलविद्युत् आयोजनामा ५ सयबढी स्थानीयले रोजगारी पाएका वडाध्यक्ष लोकबहादुर फगामीले बताए ।
वडाध्यक्ष फगामीले विद्युत आयोजनाले स्थानिय तीन वटा विद्यालयका शिक्षकको तवलभत्ता, अन्य खेलकुद मैदान समेत पूर्वाधारमा सहयोग, आमा समूह, युवा क्लवहरुलाई आर्थिक तथा भौतिक सहयोग गर्दै आएको जानकारी दिए ।
जलविद्युत् आयोजनाहरुबाट सामाजिक तथा वातावरणीय क्षेत्रमा प्राप्त औषत वार्षिक २ करोडको रुपैयाँ पनि यहीं वडामा खर्च हुने गरेको फगामीले बताए ।