म्याग्दी, १० माघ– बेनी नगरपालिका वडा नं. १ उपल्लाचौरमा एकीकृत शत्रुजीव व्यवस्थापन (आईपिएम) किसान पाठशाला सञ्चालन गरिएको छ ।
किसानलाई रासायनिक विषादी र मलको विकल्पमा प्राङगारिक खेती गर्न प्रेरित गर्ने उदेश्यले नगरपालिकाको आर्थिक सहयोगमा रत्नेचौर आइपिएम किसान समूहमार्फत पाठशाला सञ्चालन गरिएको समूह अध्यक्ष अस्मिता बोगटीले बताइन् ।
स्थानीयस्तरमा उपलब्ध प्राङगारिक मल, गाईभैँसीको मूत्र र जैविक विषादीको प्रयोगबाट रोगकीरा पहिचान तथा व्यवस्थापन गर्न पाठशाला सञ्चालन गरिएको हो । ‘तितेपाती, असुरो, खरानी, वस्तुभाउको मूत्रबाट खेतीबालीमा लाग्ने रोगकीरा नियन्त्रण गरी स्वच्छ फसल उत्पादन बढाउने उद्देश्यले पाठशालामा सहभागी भएका हौँ’ बोगटीले भनिन् ।
आलु बालीमा १६ हप्तासम्म सञ्चालन हुने पाठशालामा सहभागी २५ किसानमध्ये २३ जना महिला छन् । हरेक हप्ताको शनिबार चार घण्टा भेला गराएर सैद्धान्तिक विषयमा अभिमुखीकरणका साथै प्रयोगात्मक अभ्यास गराइएको आइपिएम सहजकर्ता क्षेत्रबहादुर कटुवालले जानकारी दिए ।
चालु आर्थिक वर्षमा उपल्लाचौरका साथै वडा नम्बर ६ को छाप र वडा नम्बर ४ को राक्सेमा आइपिएम किसान पाठशाला सञ्चालन गरिएकोे बेनी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष टेकबहादुर थापाले बताए । एक पाठशाला सञ्चालन गर्न एक लाख पचास हजारका दरले बजेट विनियोजन भएको छ ।