बागलुङ, १० माघ– देशकै पुरानो र अग्रणीमध्येको एक विद्यामन्दिर पुस्तकालय बागलुङको ७६ औँ स्थापना दिवस त्रिदिवसीय कार्यक्रमसहित मनाइने भएको छ । दिवंगत ओमप्रसाद गौचन र मेघकुमार वैद्यले २००३ सालमा श्रीपञ्चमीकै दिन पुस्तकालयको स्थापना गरेका थिए ।
यस वर्षदेखि पुस्तकालयको स्थापना दिवस मनाउन लागिएको पुस्तकालयका सचिव राजनप्रसाद शर्माले जानकारी दिए । दिवसको पहिलो दिन मंगलबार सरसफाइ सचेतना, प्रचारात्मक कार्यक्रम गरिनेछ भने बुधबार प्रभातफेरीपछि पुस्तकालयद्वारा सञ्चालित बाल विकास केन्द्रका बालबालिकाको निःशुल्क दन्त परीक्षण गरिने छ ।
बिहीबार श्रीपञ्चमी पर्वका दिन सरस्वती पूजा, पुस्तकालयको महत्वबारे प्रवचन, पूर्वअध्यक्ष सम्मान, बालबालिकालाई झोला र स्टेनशनरी सामग्री वितरण, दाताहरुबाट पुस्तकालयलाई सहयोग हस्तान्तरण लगायतका कार्यक्रम हुने शर्माले बताए ।
राणाकालमा खुलेको पुस्तकालयको अलग्गै पहिचान र गरिमा छ । धवलागिरि क्षेत्रको सामाजिक, राजनीतिक जागरणको केन्द्रको रुपमा पुस्तकालयलाई लिइन्छ । स्थापनाकालमा काठमाडौं उपत्यकाहुँदै भारतको दिल्ली, गोरखपुरबाट भरिया लगाएर ल्याइएका पुस्तक संग्रह गरेर सुरु गरिएको पुस्तकालयमा १५ हजार पुस्तक छन् ।