बागलुङ, ८ फागुन– अमर आदर्श आवासीय मावि बागलुङले चालु शैक्षिक सत्रका उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको छ । बालबिकास केन्द्रदेखि कक्षा १२ सम्मका शैक्षिक क्रियाकलाप तथा अनुशासनमा उत्कृष्ट विद्यार्थीलाई सममान गरिएको हो ।
विद्यालयले आफ्नो २० औं बार्षिकोत्सवको मुल समारोहमा उनीहरुलाई सम्मान गरेको हो । कक्षा कोठाको वातावरण शिक्षणमैत्री बनाउने, शिक्षण सिकाई र अतिरिक्त क्रियाकलापमा विद्यार्थीलाई जागरुक गराउने उद्देश्यले विद्यालयले उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको हो ।
‘सम्मानका लागि विद्यार्थी छनोट गर्न हामीलाई निकै कठिन भयो, सबै विद्यार्थी उत्तिकै सम्मानका दावेदार थिए’ सहायक प्रिन्सिपल कमल पन्तले भने ‘उत्कृष्ट मध्येबाट पनि हरेक कक्षामा एक जना छनोट गरेर सम्मान गरेका हौं ।’
विद्यार्थीलाई प्रदान गरिने सम्मान र पुरस्कारले स–साना बालबालिकामा आत्मासम्मान बढेर जाने प्रिन्सिपल हेमन्त थापाले बताए । विद्यालयले हरेक बर्ष बार्षिकोत्सव तथा अभिभावक दिवसका दिन एक÷एक जना उत्कृष्ट विद्यार्थी छनोट गरेर सम्मान गर्ने गरेको छ ।
विद्यालयले माध्यमिक तह कक्षा दशमा उत्कृष्ट अंक ल्याउने र कक्षा १२ मा बिषगत रुपमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई पुरस्कृत गरेको थियो । बार्षिकोत्सवका अवसरमा आयोजना गरिएका कार्यक्रमअन्तर्गत सोमबार मुल समारोह गरी बिबिध खेलकुद तथा साँस्कृतिक कार्यक्रममा सफलता हाँसिल गर्ने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।
सोमबार मुल सामारोहको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धन प्रसाद पोखरेलले विद्यालयहरुले व्यवहारिक शिक्षामा ध्यान दिनुपर्नेमा जोड दिए । नेपाली श्रम बजारको आवश्यकता अनुसारको जनशक्ति उत्पादन गर्ने जिम्मेबारी विद्यालयको भन्दै सरकारले त्यसका लागि वातावरण तयार गरिदिनुपर्ने पोखरेलले धारणा राखे । उनले शिक्षा क्षेत्रको जिम्मेबारी स्थानीय तहमा भएको भन्दै नीति र बिधिमा रहेर माध्यमिक तहका शैक्षिक गतिविधि अघि बढ्नुपर्ने बताए ।
कार्यक्रममा प्याव्सन बागलुङ नगर कमिटिका अध्यक्ष कृष्ण अधिकारी, पत्रकार महासंघ बागलुङका सह–सचिव तारानाथ आचार्य, अभिभावक मातृका आचार्य, शिक्षक सिता न्युरे र कक्षा १ मा अध्ययनरत छात्रा दृष्टी पन्त लगायतले बोलेका थिए । विद्यालय व्यवस्थापन तथा सञ्चानल समितिका अध्यक्ष बिजयराज पन्तको अध्यक्षता, प्रिन्सिपल हेमन्त थापाको स्वागत र सहायक प्रिन्सिपल कमल पन्तको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।