बागलुङ, १२ फागुन– बालविवाह हटाउन नसक्दा गलकोट नगरपालिकाको बालमैत्री अभियानमा चुनौती थपिएको छ । गलकोटले बालमैत्री नगरका लागि ५१ सूचकमध्ये ५० सूचक पूरा गरिसकेको छ ।
तीन वर्षअघिदेखि सुरु बालमैत्री नगर घोषणा अभियानमा बालविवाह मुक्त नगरको सूचक भने पूरा हुन नसकेको हो । गलकोट नगरपालिका वडा नम्बर ७ र ४ मा हुने गरेका बालविवाहले अभियाननै प्रभावित भएको नगरप्रमुख भरत शर्मा गैरेले बताए । तीन वर्षदेखि लाग्दापनि बालविवाह पूर्णतः हटाउन नसकिएको गरैले स्वीकारे ।
बालमैत्री नगर घोषणाका लागि बालमैत्री स्थानीय शासनले तोकेका ५१ सूचकमध्ये १२ शिक्षा र १३ वटा स्वास्थ्य क्षेत्रबाट पूरा गर्नुपर्ने हुन्छ । समुदाय तहले पूरा गर्नुपर्ने सूचकमध्ये बालविवाह अन्त्य गर्नुपर्नेछ । तर, गलकोटका विभिन्न स्थानमा बालविवाह भएको रेकर्ड भेटिएपछि अभियानलाई तोकेको समयमा पूर्णता दिन नसकिएको हो ।