प्रतिकात्मक तस्बिर
म्याग्दी, १४ फागुन– जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ६ स्थित दरबाङ खानेपानी तथा सरसफाइ आयोजना निर्माणले गति लिएको छ । २०७४ फागुनदेखि सुरु भएको दरबाङ खानेपानी आयोजना निर्माणको कामले ६ वर्षपछि गति लिएको हो ।
उपभोक्ता, उपभोक्ता समितिका पदाधिकारी, जनप्रतिनिधि र सरोकारवाला निकायले चासो देखाएपछि आयोजनाका अधुरा संरचना निर्माणको काम धमाधम भईरहेको छ ।
आयोजनाको अहिलेसम्म ५० प्रतिशत काम सकिएको छ । गण्डकी प्रदेश सरकारको दुई करोड ९९ लाख ४० हजार ९ सय ३६ रुपैयाँ लागतमा उपभोक्ता समितिमार्फत कार्यान्वयन गरिएको आयोजनाको आर्थिक वर्ष २०७२÷७३ मा सर्वेक्षण गरिएको थियो ।
खानेपानी उपभोक्ता समितिका सचिव खिमबहादुर पुनले मुख्यलाइनको निर्माण सकेर ट्याङ्कीसम्म पानी खसालिएको र शाखा लाइन निर्माणको काम थालिएको बताए । दरबाङका बासिन्दाले आयोजनाको शाखा र मुख्य पाइपलाइन खन्ने काममा श्रमदान गरिरहेको समेत पुनले जानकारी दिए ।
२०७८ मा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना खानेपानी कार्यालयको संरचना परिवर्तन, कोरोना महामारी, २०७७ मा आयोजना निर्माण क्षेत्रको जंगलमा आगलागी हुँदा र वर्षात्को समयमा दरबाङ–दिच्याम सडकबाट खसेको पहिरोले पाइप बगाउँदा निर्माणमा ढिलाइ भएको उपभोक्ता समितिका अध्यक्ष ओमप्रकाश शेरचनले बताए ।
गाउँपालिकाको छिपछिपे, ढुनोट र गोजाखोला मुख्य मुहान तथा तेलचाप्रे, धाढखर्कमाथिको सहायक मुहानबाट पानी ल्याएर दरबाङ बजारमाथि निर्माण गरिएको १ सय घनमिटर क्षमताको रिजर्भ ट्याङ्कीमा खसालिएको छ । आयोजनाबाट २ सय ९६ घरधुरीका १ हजार ५ सय ४१ जनसंख्या लाभान्वित हुनेछन् ।