तस्बिर गुगलबाट
म्याग्दी, २२ फागुन– म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसंख्यक जनजाति थकाली समुदायमा तोरन ल्ह (फागुपूर्णीमा) पर्वको रौनक छाएको छ । नेपालका विभिन्न क्षेत्रमा करिब दश हजारका संख्यामा बसोबास गर्ने थकाली समुदायले फागुपूर्णीमाको अवसरमा हरेक वर्ष तीन दिनसम्म परम्परागत तोरन ल्ह पर्व मनाउने गर्दछन् ।
तोरन ल्ह मनाउन घरबाहिर र विदेशमा रहेका थकालीय आफ्नो जन्मथलो फर्किएका छन् । तोरन ल्हमा थकाली समुदायले घर सिगारपटार गरेका छन् । फागुपूर्णीमाको अघिल्लो दिन सुरु हुने तोरन ल्ह तीन दिनसम्म मनाउने चलन रहेको थकाली समुदायकी अगुवासमेत रहेकी गण्डकी प्रदेशसभा सदस्य बिमला गौचनले जानकारी दिइन् ।
‘तीन दिन सबैरे उठेर चोखो निष्ठ भएर पित्रृलाई सम्झिएर पूजाआजा गर्ने र फूलप्रसाद चढाउनुपर्छ,’ उनले भनिे ‘आफन्तलाई बोलाएर मीठामीठा परिकार खुवाउने र आर्चरी (तारो हान्ने) खेल्ने चलन छ ।’ जिल्लाको थासाङ गाउँपालिकाको कोवाङ थकाली समुदायको उद्गमस्थल मानिन्छ ।
घरपझोङ र थासाङ गाउँपालिकामा थकाली समुदायको बाहुल्य बसोबास छ । म्याग्दीको दाना, भुरुङ तातोपानी, बेनी, दरवाङलगायत बजार क्षेत्रमा थकाली समुदायको बसोबास छ । तोरन्ल्ह पर्वको अवसरमा परम्परागत तारो हान्ने खेलको संरक्षणका लागि थकाली सेवा समिति बेनी क्षेत्रको आयोजनामा तारो खेल सुरु भएको छ ।
महिलाहरु भने मौलिक वेषभूषामा सजिएर नाचगान गर्दै शुभकामना साटासाट गरेर तोरन्ह मनाउँछन् । तारा खेल (धनुषवाण)लाई थकाली समुदायले आफ्नो जातीय पहिचानसँग जोडेका छन् । धार्मिक ग्रन्थमा विभिन्न युद्धमा धनुषवाणको प्रयोग भएको भेटिएकाले यसको विकास मानव समाजको उत्पत्ति कालदेखिनै भएको अनुमान गरिन्छ ।