बागलुङ, २५ फागुन– १ सय १३ औं अन्तराष्ट्रिय नारी दिवश बागलुङमा बिभिन्न कार्यक्रम गरेर मनाइएको छ । दिवशको अबसरमा प्रवचन, सचेतना ¥याली तथा सामाग्री बितरणका कार्यक्रमहरु सम्पन्न भएका हुन् ।
बागलुङ नगरपालिका र सामाजिक बिकास कार्यालयको आयोजनामा श्रमिक महिलाबीच अन्तरक्रिया सम्पन्न भयो । अन्तरक्रियामा सहभागी महिला श्रमिकहरुले ज्यालामा पुरुषको तुलनामा महिलालाई बिभेद भएको गुनासो गरे । उनीहरुले काम गर्दा पनि महिला भएकोले बिश्रामसमेत नपाएको समस्या बताए ।
मजदुरी गर्दा होस् वा मिस्त्री बनेर काम गर्दा पुरुष सहकर्मीभन्दा फरक व्यवहार हुने गरेको उनीहरुको गुनासो थियो । ‘लामो समयदेखि मजदुरीबाट काम सिकेर मिस्त्री बनेपनि मैले पुरुष सरह ज्याला पाइन’ बानपा–२ की कुमारी बिकले भनिन्, ‘महिला भएकै कारण आधा ज्यालामा काम गर्न बाध्य छु । उनले घर बनाउने काम गर्छिन् ।
त्यस्तै, महिला भएकै कारण शारिरीक रुपमा आउने समस्याको बेला पनि आराम गर्न नपाउने महिला श्रमिकको गुनासो छ । ‘ठेकेदारले ज्यालामा हामीलाई ठग्छन्, त्यसमा पनि महिला मजदुरलाई बेलामा नदिने, थोरै दिने र लामो समय अलमल्याउने गरेका छन्’ अर्की मजदुर मीना बोसेलले भनिन्, ‘काम गरेको ज्याला नआए चुलो बल्दैन, तर हामी नै हेपिनुपर्छ ।’ बोसेलले मजदुरीबाटै परिवार पाल्ने आएकी छन् । अहिले उनकी एक छोरी मृगौलाको बिरामी भएर नियमित उपचार गराउन बाध्य छिन् ।
कार्यक्रममा नगरपालिकाका उपप्रमुख राजु खड्काले पीडित महिलाहरुको समस्याबारे ठेकेदारहरुसँग बसेर समाधान गर्ने बताए । उनले महिला मजदुरले बचत गर्न पनि सिक्नुपर्ने भन्दै छोराछोरी पढाएर दक्ष बनाउन आग्रह गरे ।
नगरकार्यपालिका सदस्य धनमाया शर्माको अध्यक्षता र महिला तथा बालबालिका शाखाकी प्रमुख सरस्वती देवी रेग्मीको संचालनमा सम्पन्न कार्यक्रममा सामाजिक बिकास समितिका संयोजक ज्ञानेन्द्र गौतम, सामाजिक बिकास कार्यालयका प्रमुख डम्बर जिसी, स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनाल लगायतले बोलेका थिए ।
उक्त अबसरमा सामािजक बिकास कार्यालयले ४० जना महिला श्रमिकलाई साबुन, टुथपेष्ट र टावेल तथा नगरपालिकलो नगदै ५ सय रुपैयाँ सहयोग गरेको थियो ।
त्यस्तै, दिवशको अबसरमा सचेतना मुलक ¥याली र प्रवचन कार्यक्रम समेत समपन्न भयो । नगरपालिका सहित नगरक्षेत्रका विभिन्न महिला संघ संगठन तथा अन्तरपार्टी महिला संजाल समेतको आयोजनामा कार्यक्रम भएको हो ।
¥यालीसहित बजार परिक्रमा पछि बालमन्दिरमा पुगेर शुरु भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले महिला सशक्तीकरणबाट मात्र हिंसा रोक्न सकिने बताइन् । उनले विश्व परिवेश सिर्जनात्मक प्रविधिमा पहुँच बिस्तार गर्ने अबस्थामा पुगिसक्दा नेपाल भने अधिकारको लडाइमा लागिरहेको अबस्था रहेको भन्दै समान अबसर र समावेशीकरणले बिकासमा अघि बढाउने विश्वास व्यक्त गरिन् ।
संजालकी उपाध्यक्ष भगवती केसीको अध्यक्षता, बागलुङ नगरपालिका महिला तथा बालबालिका शाखाकी प्रमुख सरस्वतीदेवी रेग्मीको संचालन र सामाजिक बिकास कार्यालयका प्रमुख डम्बर जिसीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।
यसैबगरी, मानव अधिकार तथा शान्ति समाजले बानपा १ को मालढुंगामा काम गर्ने महिला श्रमिकहरुका लागि सम्मान तथा सामाग्री हस्तान्तरण कार्यक्रम पनि सम्पन्न गरेको छ भने अन्तराष्ट्रिय गलकोट समाजले गलकोटमा महिलाको अबस्था हिजो आज र भोली बिषयक भर्चुअल अन्तरक्रिया सम्पन्न गरेको छ । कार्यक्रममा सहभागिले बैदेशिक रोजगारीमा जाने महिलालाइ शिप र क्षमताले युक्त बनाएर मात्र पठाउनुपर्ने धारणा राखेका थिए ।
सहभागीले महिलालाई प्रविधिमैत्री बनाउन सक्दा आत्मनिर्भर पनि बनाउन सकिने भन्दै स्वरोजगारबाट हिंसा न्युनिकरणमा पनि योगदान पुग्ने बताएका थिए । उक्त अबसरमा गलकोट समाज जापानकी अध्यक्ष कालीका थापा, डा. साल्मा केसी, गलकोट नगरपालिकाकी पूर्व उपप्रमुख रेणुका काउचा, महिला अधिकारकर्मी ललिता थापा र पत्रकार शर्मिला बस्नेतलगायतले मन्तव्य राखेका थिए ।