म्याग्दी, १ चैत्र– बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको (स्ववियु) निर्वाचन स्थगित गरिएको छ । क्याम्पस प्रशासनले सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि चैत ५ गते हुने निर्वाचनका सम्पूर्ण कार्यक्रम स्थगित गरेको जनाएको छ ।
स्ववियु निर्वाचनलाई लिएर विद्यार्थी संघ संगठनबीच विवाद भएपछि क्याम्पस प्रशासनले अर्को सूचना जारी नभएसम्मका लागि निर्वाचनका सम्पूर्ण कार्यक्रम स्थगित गरेको हो । स्ववियु निर्वाचनलाई लिएर नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले स्ववियु निर्वाचन कार्यालयमा सोमबार तालाबन्दी गरेको थियो ।
तालाबन्दीका विषयमा लिएर क्याम्पस सञ्चालक समिति, प्रशासन, निर्वाचन समिति र स्ववियु निर्वाचन २०७९ का लागि दर्तावाला संघ संगठनका प्रतिनिधिहरुबीच भएको बैठकको निर्णय बमोजिम बुधबार बिहान ११ बजेसम्म विद्यार्थी संघ संगठनलाई सहमति गर्ने समयावधि तोकिएकोमा उक्त समयभित्र सहमति कायम भएको सूचना नआएकाले निर्वाचनका कार्यक्रम स्थगित गरिएको क्याम्पस प्रमुख गोरखबहादुर जिसीले बताए ।
यसैगरी, मंगला गाउँपालिकास्थित बाबियाचौरमा रहेको मंगला शिक्षा क्याम्पसमा पनि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीले बहिष्कार गरेको छ ।
निर्वाचनबारे क्याम्पस प्रशासनले जानकारी नदिएको, गलत सूचना दिएको, विद्यार्थी भर्नाका बारेमा प्रष्ट सूचना दिन आनकानी गरेको, मनोनयन दर्तासहित अन्य प्रक्रियामा क्याम्पसमा अनुपस्थित भएको भन्दै स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी गर्दै चुनाव बहिष्कारको घोषणा गरेका हुन् ।